|

फावाखोलामा मोटर गुड्ने पुल निर्माण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ४ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा मोटर गुड्ने (मोटरेवल) पुल निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट साझेदारी लगानीमा फावाखोलामा मोटरेवल पक्की पुल निर्माण गरिएको हो ।
सदरमुकाम फुङ्लिङ नाङ्खोल्याङ–थेचम्बु–थुम्बेदिन–कञ्चनजंघा सडकअन्तर्गत फावाखोलामा उक्त मोटरेवल पुल निर्माण भएको हो । प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको कुल चार करोड २९ लाख रुपैयाँको लागतमा सोही गाउँपालिका वडा २ थेचम्बु र वडा ५ चाक्सिबोटे जोड्नेगरी फावाखोलामा पुल निर्माण गरिएको छ ।
उक्त मोटरेवल पक्को पुलको बिहीबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगु र पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यता पुलको उद्घाटन गर्नुहुँदै मन्त्री जबेगुले मोटर गुड्ने पुलको अभावमा यातायात सुविधाबाट बञ्चित जनतालाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
मोटरवल पुल निर्माणसँगै सडकको पनि स्तरोन्नति आवश्यक देखिएकाले चालू आर्थिक वर्षभित्रै सडक स्तरोन्नति तथा मर्मत सुधार गर्न कोशी प्रदेश सरकारका तर्फबाट १० लाख रुपियाँ बजेट उपलब्ध गराउने उहाँले घोषणा पनि गर्नुभयो । प्रदेश सरकारले उपलब्ध गराउने बजेटमाथि आवश्यक थप रकम लगानी गरेर सडकको स्तरोन्नति गर्न मन्त्री जबेगुले पाथीभरा याङ्वरक गाउँपालिकालाई अनुरोध पनि गर्नुभयो ।
लम्बाई ४० र चौडाइ ११ मिटर रहेको उक्त पक्की मोटरेवल पुल थेबे जेभी एसएस कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो । २०७९ चैत मसान्तभित्र सम्पन्न गर्नेगरी पाथीभरा याङ्वरक गाउँपालिका र निर्माण कम्पनीबीच २०७६ असार १५ पुल निर्माणको सम्झौता भएको थियो । पुल उद्घाटनमा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा, गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts