ताप्लेजुङ बिपद् व्यवस्थापन समितिद्धारा बिपद्का घटनाको प्राथमिकीकरण गरी प्रकोप पात्रो तयार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १२ । जिल्ला बिपद् व्यवस्थापन समितिले ताप्लेजुङमा हुने बिपद्का घटनाको प्राथमिकीकरण गरी प्रकोप पात्रो तयार गरेको छ ।

समितिले बाढी र पहिरोलाई प्रकोपको पहिलो जोखिमयुक्त क्षेत्र पहिचान गरेको छ भने आगलागीलाई दोस्रो स्थानमा राखेको छ । यस्तै चट्याङलाई तेस्रो,हावाहुरीलाई चौथो,खडेरीलाई पाँचौं,भूकम्पलाई छैटौं र असिनालाई सातौं स्थानमा राखिएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले बिपद् पूर्व तयारी तथा प्रतिकार्य योजना आफ्नो वेभसाईटमार्फत सार्वजनिक गरेको हो ।

प्रकोप पात्रो अनुसार बैशाख देखि साउन सम्मको अवधि बाढी,पहिरो र डुबानका लागि अति संकटासन्नता समयको रुपमा रहने अनुमान गरिएको छ । बाढी,पहिरो र डुबानका लागि भदौ,असोज र कात्तिक महिनालाई मध्यम र मंसिर देखि चैत सम्मको अवधिलाई न्यून संकटासन्नताको रुपमा उल्लेख गरिएको छ ।

यस्तै आगलागीका लागि चैत देखि साउन सम्मको अवधिलाई उच्च,मंसिर देखि फागुन सम्मको अवधिलाई मध्यम र भदौ देखि कात्तिक सम्मको अवधिलाई न्यून संकटासन्नताको रुपमा लिईएको छ । चट्याङका लागि भने फागुन देखि जेठ सम्मको अवधिलाई उच्च,असार देखि असोज सम्मको अवधिलाई मध्यम र कात्तिक देखि माघ सम्मको अवधिलाई न्यून संकटासन्नताको रुपमा लिईएको छ ।

हावाहुरीका लागि पुस देखि जेठ सम्मको अवधिलाई उच्च,कात्तिक–मंसिरलाई मध्यम र असार देखि असोज सम्मको अवधिलाई सामान्य जोखिम अवधिको रुपमा लिईएको छ । खडेरीका लागि माघ देखि बैशाख सम्मको अवधिलाई उच्च र साउन देखि पुस सम्मको अवधिलाई सामान्य जोखिम अवधिको रुपमा लिईएको छ । भूकम्पका लागि भने बाह्रै महिना उत्तिकै जोखिम रहने जिल्ला बिपद् व्यवस्थापन समितिले प्रकोप पात्रोमा उल्लेख गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts