|

ताप्लेजुङमा राहदानी र नागरिकता बनाउने सङ्ख्या बराबर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ४ । ताप्लेजुङमा राहदानी र नागरिकता बनाउने सङ्ख्या बराबर जस्तै रहेका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार पछिल्लो छ महिनाको अवधिमा राहदानी (इ–पासपोर्ट) र नागरिकता बनाउनेको सङ्ख्या बराबर अर्थात आधा–आधाजस्तै रहेको छ ।
जिल्लामा चालू आर्थिक वर्षको छ महिना अर्थात पुस मसान्त सम्ममा एक हजार ७५९ जनाले राहदानी बनाएका छन् । राहदानी फाँटका नायवसुब्बा रमेशप्रसाद सिग्देलका अनुसार एक हजार १९५ जनाले जिल्लाबाट नै बुझ्नेगरी राहदानी बनाएका छन् । यस अवधिमा द्रुत सेवाअन्तर्गत काठमाडौंबाट राहदानी बनाउनेगरी २३७ जनाले सिफारिस लगेका उहाँले जानकारी दिनुभयो ।
यस्तै चालू आवको पुस मसान्त सम्ममा एक हजार ७७१ जनाले नागरिकता बनाएका छन् । बंशजका आधारमा एक हजार ७६३ जनालाई नागरिकता वितरण गरिएको छ । त्यस्तै छ जनालाई वैवाहिक अंगीकृत र दुई जनालाई गैर आवासीय नागरिकता प्रदान गरिएको नागरिकता फाँटका नायवसुब्बा कुलमणि दाहालले जानकारी दिनुभयो ।
यस जिल्लामा वैवाहिक अंगीकृत नागरिकता विगतदेखि नै वितरण हुँदै आएको भए पनि गैर आवासीय नागरिकता भने पहिलो पटक वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला टंकबहादुर भट्टराईले बताउनुभयो । सहायक प्रजिअ भट्टराईका अनुसार विदेशमा बसोबास गर्दै आएका नागरिकलाई गैर आवासीय नागरिकता प्रदान गरिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts