पढाईप्रति बिद्यार्थीमा उत्प्रेरणा जगाउन ताप्लेजुङको दुर्गम क्षेत्रका शिक्षक आफैं तयार गर्छन् शिक्षण सामग्री

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेस्थित लक्ष्मी माविका शिक्षक राजेन्द्र भट्टराई पर्याप्त शिक्षण सामग्री बेगर कक्षाकोठा जाँनुहुन्न । स्थानीय क्षेत्रमै पाइने बिभिन्न कच्चा पदार्थको प्रयोग गरेर अहिले तल्लो तह(कक्षा १–५)को कक्षामा शिक्षण सामग्री तयार गरिएको छ ।‘हामी प्रभावकारी शिक्षण सिकाईलाई व्यवस्थित बनाउँदै नतिजा सुधारको अभियानमा छौं’उहाँले भन्नुभयो । सो पालिकाको वडा नं ७ खेवाङस्थित गणेश माविका शिक्षक रामकुमार लिम्बूलाई उपयुक्त शैक्षिक सामग्रीको साथमा पढाउँदा बिद्यार्थीहरु पढाईप्रति मनोवैज्ञानिक रुपले तयार हुन्छन् जस्तो लागेको छ । पढाउनु मात्र आफ्नो कर्तव्य नठान्ने उहाँ बिद्यार्थीलाई जान्ने बनाउने जिम्मेवारी शिक्षककै रहेको बताउँनुहुन्छ।

फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माविका शिक्षक छत्र शाहीलाई कक्षा कोठामा आवश्यक पर्ने शिक्षण सामग्री बनाउन खुबै जाँगर चल्छ । सल्यानबाट जागिरको सिलसिलामा ताप्लेजुङ आइपुगेका उनलाई कक्षा कोठामा बिद्यार्थीलाई पढाई जगाउने प्रमुख माध्यम नै पर्याप्त शिक्षण सामग्री बेगर हो भन्ने मेसो आएको छ । भन्नुहुन्छ ‘के गर्दा शिक्षण सिकाई प्रभावकारी र बिद्यार्थीलाई पढाईप्रति आकर्षण गर्न सकिन्छ भन्ने बिषयमा शिक्षक आफैं जानकार हुनुपर्छ । कक्षा कोठामा पर्याप्त मात्रामा हुने शिक्षण सामग्रीले बिद्यार्थीलाई पढाईप्रति उत्प्रेरणा जागृत गर्ने फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ स्थित सुनदेवी माविका शिक्षक नागेन्द्र महतोको बुझाई छ । महेन्द्र आधारभूत बिद्यालय खेवाङका शिक्षक बाबुराम लिम्बू शिक्षण सामग्रीले बिद्यार्थीको पढाईप्रतिको रुची र आवश्यकता समेतको पहिचान गर्न सहज हुने बताउँनुहुन्छ ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले आफ्नो कार्यक्षेत्र भित्रका ३५ वटा बिद्यालयहरुका कक्षा कोठामा अनिवार्य शिक्षण सामग्री पुग्नेपर्ने गरी शिक्षकहरुलाई सचेतना गराएको छ । रिडले गराएको त्यही सचेतनाका कारण आफ्ना बिद्यालयहरुका कक्षा कोठामा पर्याप्त मात्रामा शिक्षण सामग्री रहने गरेको शिक्षिका अमृत थलङ बताउँनुहुन्छ । रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउन शिक्षण सामग्रीको प्रयोग अनिवार्य रहेको बताउँनुहुन्छ । कार्यक्षेत्रका बिद्यालयहरुमा शिक्षण सामग्रीको उचित प्रयोगले सिकाईप्रति बिद्यार्थीमा अभिरुची जागृत गर्ने,पढाईप्रतिको मनोविज्ञान जाग्ने र अभ्यास सहितको शिक्षणले बिद्यार्थीको पढाईप्रतिको लगनशिलतामा बृद्धि गर्ने पन्तको बुझाई रहेको छ ।

रिडले कार्यक्षेत्रका बिद्यालयहरुमा बालमैत्री कक्षा र पूर्वाधार,अनिवार्य शिक्षण सामग्रीको प्रयोग,शिक्षकको नियमितता बारे बिद्यार्थीमार्फत जानकारी राख्ने प्रणाली(लगबुक)को प्रयोग सहितका अभियान चलाएको छ । शिक्षण सामग्रीको प्रयोगले सिकाईको प्रभावकारिता बृद्धि भई नतिजा समेतमा सुधार आउने रिड नेपालका शिक्षा अधिकृत रोमा मावो लिम्बूले बताउनुभयो । रिड नेपालले प्रभावकारी शिक्षण सिकाईका उपाय तथा अहिले सम्म भइरहेका अभ्यासको आदानप्रदानका लागि कार्यक्षेत्रका बिद्यालयहरुका शिक्षकका बीच अन्तरक्रिया समेत गरेको थियो । त्यही क्रममा शिक्षकहरुले आफ्ना बिद्यालयहरुमा प्रभावकारी शिक्षण सिकाईका लागि गरिएका प्रयास,उपयोग गरिने शिक्षण सामग्री सहितका बिषयमा खुलेर कुरा राख्नु भएको थियो ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित लक्ष्मी माध्यमिक बिद्यालयको कक्षा कोठामा रहेका रहेका शिक्षण सामग्रीको अध्ययन गर्दै रिड नेपालको टोली । फायल फोटो

अरुलाई पनि शेयर गरौ !

Similar Posts