एकिकृत घुम्ति शिविरमार्फत सेवाग्राहीका घरदैलोमा पुग्दै ताप्लेजुङको पाथीभरा याङ्वरक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २५ । पालिका क्षेत्रका बासिन्दालाई गाउँघरमै पुगेर सेवा प्रदान गर्नेगरी ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले एकिकृत घुम्ति शिविर सुरु गरेको छ ।

पालिकाका ६ वटै वडाका नागरिकहरुको घरदैलोमै पुगेर सेवा बितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार एकिकृत घुम्ति शिविरमार्फत योजनाको सम्झौता देखि सामाजिक सुरक्षा भत्ता बितरण,अपाङ्गता परिचयपत्र बितरण,व्यवसाय दर्ता तथा नविकरण र ६० बर्ष माथिका नागरिकको सामान्य स्वास्थ्य परीक्षण(सुगर,प्रेशर,पल्स,अक्सिजन आदि)सहितका सेवा एकसाथ प्रवाह गरिदैं आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार वडा नं १ नाङखोल्याङ र वडा नं ३ तिरिङ्गेमा एकिकृत घुम्ति शिविरमार्फत सेवाग्राहीलाई सेवा प्रदान गरिसकिएको छ । यसपछि वडा नं ४ डुम्रिसे,वडा नं ५,चाक्सिबोटे र वडा नं ६ थुम्बेदिनमा एकिकृत घुम्ति शिविरमार्फत सेवाग्राहीकै घरदैलोमा पुगेर सेवा प्रदान हुने घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १ नाङखोल्याङमा २ सय ४ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण,६० बर्ष भन्दा माथि उमेर समूहका ७४ जनाको स्वास्थ्य परीक्षण,४५ जना जेष्ठनागरिकलाई सम्मान,५ वटा योजनाको सम्झौता र १ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिएको छ । यस्तै वडा नं ३ तिरिङ्गेमा ९८ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बितरण,६० बर्ष भन्दा माथि उमेर समूहका ५१ जनाको स्वास्थ्य परीक्षण,१८ जना जेष्ठ नागरिकलाई सम्मान,४ वटा योजनाको सम्झौता र २ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिएको छ । पालिका उपाध्यक्ष रनमाया गुरुङ सहित सम्वन्धित वडाका जनप्रतिनिधि समेतको उपस्थितिमा घुम्ति शिविर भइरहेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts