|

पाथीभरा टाइगरले जित्यो पुसेमेला भलिबल उपाधि

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, पुस ५ । पूर्वकै ऐतिहासिक पुसे मेला स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा, दमकको पाथीभरा टाइगर भलिबल क्लबले जितेको छ । बिहीबार भएको फाइनलमा स्थानीय टोली मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा पराजित गर्दै पाथीभरा टाइगरले उपाधि जितेको हो ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा सञ्चालित भलिबल प्रतियोगिताको उपाधि जितेसँगै पाथीभरा टाइगर भलिबल क्लबले तीन लाख रुपियाँ राशिको नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको मुकेश मेमोरियल क्लबले नगद एकलाख ५० हजार रुपियाँमा चित्त बुझाउनुपरेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा भोजपुर भलिबल क्लबलाई हराउँदै पाथीभरा टाइगर भलिबल क्लब फाइनल पुगेको थियो । यस्तै संखुवासभाको सभापोखरी भलिबल क्लबलाई हराउँदै मुकेश मेमोरियल क्लब फाइनलमा पुगेको थियो ।
विजेता टोलीलाई आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमूले पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको पुसेमेला स्वर्ण महोत्सव आयोजक समितिका सचिव गणेश कार्कीढोलीले जानकारी दिनुभयो । सचिव कार्कीढोलीका अनुसार पुस २ गते सोमबादेखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका गरी आठ टोलीको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts