ताप्लेजुङको याम्फुदिनमा बोलेरो दुर्घटना,चालक निसानको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङको फुङलिङ ५ बस्ने ३० बर्षिय निशान लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले जानकारी दिनुभयो । निसानले चलाएको प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भोटेगाउँबाट छेबुकतर्फ जाँदै गर्दा गाडी बन्द भई बिग्रिएकोले निसान आफैंले फोन गरी स्थानीय २ जनालाई गाडी ठेल्ने सहयोग गर्न बोलाउनु भएको थियो । गाडी पछाडिबाट ओरालोतर्फ ठेल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालक निसानलाई सोहि सवारीले किचेको र उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको स्थलगत अनुसन्धान तथा उक्त घटनास्थललाई सुरक्षित गर्न याम्फुदिन प्रहरी चौकीका प्रहरी हवल्दार बिनोद उरावको टोली खटिई गएको समेत प्रहरीले जनाएको छ । घटनाको बिस्तृत अध्ययनका लागि इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली परिचालित भएको समेत जिल्ला प्रहरी प्रमुख(डिएसपी)लिम्बूले जानकारी दिनुभयो ।

मृतक चालक निशान ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts