| |

ताप्लेजुङमा बुधबार पनि बन्दको घोषणा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर १२ । पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरिएकोभन्दै पहिचान पक्षधरले भोलि बुधबारका लागि ताप्लेजुङमा बन्दको घोषणा गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पहिचान पक्षधर समूहले बन्दको घोषणा गरेका हुन् ।
विज्ञप्तिअनुसार ताप्लेजुङमा बजार पसल र यातायात बन्द हुने उल्लेख गरिएको छ । नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले पोलिटव्यूरो तथा प्रदेससभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरेका कारण आन्दोलनलाई थप सशक्त बनाउनुपरेको सो समूहले उल्लेख गरेका छन् ।
आन्दोलनरत पक्षमाथि नै हमला गर्ने एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्नुको सट्टा उल्टै आन्दोलनरत पक्षका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने प्रहरी प्रशासनको गलत नियत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश नं. १पुनःनामांकन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बरबहादुर पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराधी झै आफ्ना साथीहरुलाई मध्यरातमा गिरफ्तार गरिएको पनि आरोप लगाइएको छ ।
गिरफ्तार गरिएका कार्यकर्ता बिपिन कङ्लिवा र आनन्द कङ्लिवालाई बिनासर्त रिहाइ नगरसम्म बुधबारदेखि चरणबद्ध आन्दोलनलाई सशक्त बनाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै सो समूहले प्रदेशको पुनःनामांकन नभएसम्म पहिचानवादी आन्दोलनलाई जारी राख्ने पनि जनाएका छन् ।
यसरी बजार र यातायात बन्दसहित बुधबारदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेका पहिचान पक्षधरले मंगलबार साँझ सदरमुकाम फुङ्लिङ बजारमा बन्दको कार्यक्रमबारे प्रचारप्रसारसमेत गरेका छन् । पहिचानवादी आन्दोलनलाई सहयोग गर्न बजारवासी तथा सम्बन्धित पक्षलाई प्रचारप्रसारमार्फत आग्रह गरेका हुन् ।
सो समूहले नै मंगलबारका लागि आह्वान गरेको बन्दका कारण मेची राजमार्गसहित ग्रामीण क्षेत्रमा यातायात ठप्प भएको थियो । पहिचान विरोधी अभिव्यक्ति दिएको आरोपमा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध पहिचान पक्षधरले आइतबार फुङ्लिङमा कालो झण्डा देखाउनुका साथै नाराबाजी गरेका थिए ।
यता बुधबारपछि पनि पक्राउ परेका साथीहरुलाई बिनासर्त रिहाइ नगरे वा गलत मुद्दा लगाएर फसाउन खोजिए अनिश्चित बन्द आह्वान गर्दै आन्दोलनलाई थप सशक्त र व्यापक बनाइने संघर्ष समितिका सदस्य सरोज कङ्लिवाले बताउनुभयो । उहाँकाअनुसार बुधबार हुने यातायात बन्दमा चार पाङ्ग्रे तथा तीन पाङ्ग्रे अट्टोसहितका सवारी साधन पूर्णरुपमा ठप्प हुने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts