ताप्लेजुङमा ‘बाल अधिकार संरक्षणका लागि ऐकबद्धता’अभियान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २० । बालअधिकार सम्वन्धी कार्यविधि पारित भएका ताप्लेजुङका पालिकाहरुमा ‘बाल अधिकार संरक्षणका लागि ऐकबद्धता’अभियान सुरु गरिएको छ ।

वातावरण संरक्षण तथा विकास मञ्च(ईसीडिएफ) ताप्लेजुङले मानव अधिकार मञ्च इलामसंगको सहकार्यमा आठराई त्रिबेणी गाउँपालिकामा वाल अधिकार संरक्षणका लागि ऐकबद्धता अभियान सुरु गरेको हो । परीक्षण परियोजनाको रुपमा सुरु भएको यो अभियानका लागि जर्मनीको किण्डरमिसन रेकले आर्थिक साझेदारी गरेको ईसीडिएफका अध्यक्ष खड्गबिक्रम सुबेदीले जानकारी दिनुभयो । कार्यक्रमका फोकल पर्सन दीपेन्द्र सुबेदीका अनुसार अभियान सञ्चालन भएको आठराई त्रिबेणीका ७ वटा माध्यमिक बिद्यालयमा बाल अधिकार संरक्षणका बिभिन्न कार्यक्रम सञ्चालनमा छन् । पालिका भित्र बालबालिकाको अगुवाईमा बाल अधिकारका बिभिन्न आयामहरुका बारेमा सचेतनामूलक कार्यक्रम तथा बाल अधिकारसंग सम्वन्धित सवालमा सचेतना सहित बहस र पैरवीका कार्यक्रम सञ्चालन भइरहेको सुबेदीले बताउनुभयो । यो कार्यक्रम ताप्लेजुङ सहित पाँचथर,इलाम र तेह्रथुममा सञ्चालन भइरहेको सुबेदीले जानकारी दिनुभयो । अहिले आठराई त्रिबेणीमा मात्र कार्यक्रम सञ्चालन भएको र यसलाई नमूनाको रुपमा अघि बढाएर त्यहाँबाट प्राप्त उपलब्धी र सिकाई अन्य पालिका क्षेत्रहरुमा समेत बिकेन्द्रित गर्ने ईसीडिएफको योजना रहेको छ । यसका लागि ईसीडिएफले कार्यगत साझेदार निकाय मानव अधिकार मञ्च इलाममार्फत आर्थिक साझेदार निकाय किण्डरमिसन रेकसंग समन्वय अघि बढाएको समेत जनाएको छ ।

कार्यक्रमका फिल्ड सहायक बुद्धकला लिम्बूका अनुसार कार्यक्रम सञ्चालन भएका बिद्यालयहरुमा बाल क्लव गठन गर्ने,बाल अधिकारको संरक्षण र समुदाय सचेतनाका लागि बाल क्लवहरुकै सक्रियतामा अधिकार केन्द्रित योजना अघि बढाउने,बाल अधिकारको संरक्षणका लागि बालबालिकाको भूमिका बुझाउने गतिविधि भएका छन् । यस बाहेक बाल अधिकार संरक्षणका लागि स्थानीय कार्यपालिका,बिषयगत शाखा र सम्वन्धित बिद्यालय प्रशासनसंग समेत सहकार्य गर्दै आएको फोकल पर्सन सुबेदीले बताउनुभयो । गठन भएका बाल क्लवहरुलाई बाल अधिकार केन्द्रित गतिविधि सञ्चालनका लागि प्रत्येक बिद्यालयको बाल क्लवलाई १५–१५ हजार रुपैयाँको दरले सहयोग समेत गरिएको ईसिडीएफले जनाएको छ । यस्तै बाल अधिकारका सवालमा पालिका र अन्य साझेदार निकायसंग निरन्तर समन्वय गर्न १५ सदस्यीय बाल सञ्जाल समेत गठन भएको छ । सञ्जालमा सरस्वती नमूना माध्यमिक बिद्यालय हाङ्पाङबाट ३ जना र बाँकी पालिकाका सबै माध्यमिक बिद्यालयमा गठन भएका बाल क्लवबाट २–२ जनाको प्रतिनिधित्व गराइएको छ । प्रत्येक बिद्यालयमा गठन भएका बाल क्लवलाई बिद्यालय प्रशासनकोतर्फबाट सहजीकरण गर्न बाल संरक्षण स्रोत शिक्षकलाई जिम्मेवारी प्रदान भएको समेत ईसिडीएफले जनाएको छ ।

यसबाहेक ईसिडीएफकातर्फबाट अभियानमना खटिएको जनशक्तिले पालिकासंग नियमित समन्वय गर्ने,बाल अधिकारका सवालमा तय भएको नीति तथा कार्यक्रम र बजेटको अवस्था बारे जानकारी लिने,बाल अधिकार कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत साझेदारी र समन्वय गर्ने तथा बाल क्लव र बाल सञ्जालको जिम्मेवारी अनुसारको गतिविधिमा सक्रियता ल्याउन भूमिका खेल्ने काम गरिरहेका छन् । कार्यक्रम अन्र्तगत पालिकास्तरमा २५ हजार रुपैयाँको बाल संरक्षण कोष समेत स्थापना भएको ईसिडीएफले जनाएको छ । अभियानमार्फत जिल्ला स्तरीय सरोकारवालासंग छलफल गरी प्रत्येक पालिकामा बाल अधिकार सम्वन्धी कार्यविधि तयार गरी कार्यक्रम अघि बढाउन प्रोत्साहित गर्ने र सहजीकरणको लागि प्रस्ताव आए कार्यविधिको तयारीका लागि समेत सहयोग गर्ने कार्यसूची रहेको समेत ईसिडीएफले जानकारी दिएको छ । ताप्लेजुङमा आठराई त्रिबेणी बाहेक पाथीभरा याङवरक गाउँपालिका,मैवाखोला गाउँपालिका र फुङलिङ नगरपालिकाले बाल अधिकार सम्वन्धी कार्यविधि तयार गरिसकेको बताइएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts