अटिजम देखि हेमोफेलिया समेतको समस्याका कारण ताप्लेजुङमा करिव ३ हजार व्यक्ति अपाङ्गताको शिकार

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । ताप्लेजुङमा १२ प्रकारका समस्याका कारण करिव ३ हजार व्यक्ति अपाङ्गताको शिकार भएको पाईएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदन अनुसार कूल १ लाख २० हजार ५ सय ९० जनसंख्यामध्ये २ हजार ९ सय ९९ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
जनगणनाको प्रतिबेदन अनुसार ताप्लेजुङमा अटिजम देखि अनुवंशिय रक्तश्राव अर्थात् हेमोफेलिया समेतबाट प्रभावित भई अपाङ्गता भएको पाइएको छ । अटिजम स्नायु विकास सम्बन्धी समस्या हो,जुन बालबालिकाको विकास क्रममा देखिने गर्छ । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या हुनुका साथै व्यवहार एकोहोरो हुने गर्छ । अटिजमका लक्षण प्रायः २ वर्षको उमेर सम्ममा देखा पर्छन् । जनगणनाको प्रतिबेदन अनुसार १० महिला र ३ पुरुष गरी १३ जनामा यो समस्या रहेको छ
। यस्तै ९ महिला र ८ पुरुष गरी १७ जना हेमोफेलियाका कारण अपाङ्ग छन् । हेमोफेलिया रगतसम्बन्धी रोग हो । कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हेमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन र बगिरहन्छ ।
२५ महिला र १३ पुरुष गरी ३८ जना बौद्धिक अपाङ्गता भएका व्यक्ति रहेको जनगणनाको अन्तिम प्रतिबेदनमा उल्लेख गरिएको छ । ५६ महिला र ३५ पुरुष गरी ९१ जना मनोसामाजिक अपाङ्गताको शिकार भएका छन् । ९४ पुरुष र ७२ महिला मानसिक अपाङ्गता भएका छन् । बहिरोपन र दृष्टीबिहिन दुबै समस्याका कारण ४५ पुरुष र ३१ महिला प्रभावित छन् । १ सय १९ पुरुष र ८१ महिला गरी २ सय जना भने न्यून श्रवणशक्तिको समस्या व्यहोरी रहेका छन् ।
सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्ति रहेका छन् । जनगणनाको प्रतिबेदन अनुसार ७ सय ४ पुरुष र ५ सय १७ महिला गरी कूल १ हजार २ सय २१ जना शारीरिक अपाङ्गता भएका व्यक्ति छन् । न्यून दृष्टीको समस्याका कारण ४ सय ३७ जना प्रभावित भएकामा २ सय ३५ महिला र २ सय २ पुरुष छन् ।
१ सय २ पुरुष र ८८ महिला गरी १ सय ९० जना दृष्टीबिहिनको समस्याका कारण अपाङ्गताको बोझ बोकीरहेका छन् । २ सय २७ जना बहिरोपनका कारण प्रभावित भएका छन् । त्यसमा १ सय २१ पुरुष र १ सय ६ जना महिला रहेको जनगणनाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।