|

फुङलिङमा अनुगमन समिति सक्रिय,व्यवसायिक मापदण्ड पालना नगरे एक्सनमा जाने अनुगमन कार्यदलको तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २ । अनुगमन समितिले ताप्लेजुङका व्यवसायीलाई व्यवसायिक मापदण्ड पालना नगरे हुनसक्ने दण्ड र जरिवाना बारे सचेत गराएको छ ।

बिहीबार फुङलिङ नगरपालिकाको संयोजनमा भएको अनुगमनका क्रममा दर्ता प्रमाणपत्र कारोवार स्थलमा राख्ने देखि,प्रचलित मूल्यमा मात्र बिक्री गर्न पाउने,अखाद्यबस्तु बिक्री गर्न नहुने जस्ता बिषयको पालनाका सर्त र प्रकृया बारे जानकारी गराईएको हो । अनुगमनका क्रममा बिल लिने–दिने प्रकृया पालना नभएको देखि इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तुको बिक्री वा सञ्चय गरे हुनसक्ने दण्ड र जरिवाना बारे सचेत गराएको अनुगमन कार्यदलले जनाएको छ । स्वदेशमा उत्पादित तथा बिक्री बितरण एवम् उपभोग गरिने बस्तु तथा सेवामा लगाईने शुल्कलाई अन्तःशुल्क भनिन्छ । मूलत मानवीय एवम् वातावरणीय स्वास्थ्यमा प्रतिकुल असर पार्ने बस्तु तथा बिलासिताका बस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । ‘के कस्तो अवस्था र कतिसम्म दण्ड र जरिवाना लागु हुन्छ भन्ने बारेमा व्यवसायीलाई सचेत गराएका छौं’अनुगमन कार्यदल संयोजक तथा फुङलिङ नगरपालिकाका कर्मचारी तुलसा निरौलाले बताउनुभयो । यसबाहेक पसलमा सफा र उपभोग्य बस्तु नभेटिए अनुगमन कार्यदलले बिक्री स्थलबाट हटाएको जनाएको छ ।

अनुगमन कार्यदलले बिहीबार फलफुल तथा तरकारीजन्य बस्तुको बिक्री गर्ने पसलहरुको अनुगमन तथा निरीक्षण गरेको थियो । बुधवार माछा तथा मासुजन्य बिक्रीस्थलहरुको अनुगमन तथा निरीक्षण भएको फुङलिङ नगरपालिकाले जनाएको छ । करदाता सेवा कार्यालयले दर्ता प्रमाणपत्र कारोवार स्थलमा सबैले देख्नेगरी नराखे प्रत्येक पटक १ हजार रुपैयाँका दरले जरिवाना हुने बताएको छ । यस्तै तोकिए बमोजिम करपाटी नराखेमा २ हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ । जाँच परीक्षणमा बाधा अवरोध गरेमो पटकैपिच्छे ५ हजार तथा बिल बिजक नदिएमा र नलिएमा पटकैपिच्छे १० हजार रुपैयाँका दरले जरिवाना लाग्ने छ । कारोवारको लेखा अद्यावधिक नगरेमा र खरिदबिक्री खाता स्वयं प्रमाणित गरी नराखेमा १०–१० हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ । यस्तै १० हजार रुपैयाँ भन्दा बढीको ढुवानीमा कर बिजक साथमा नराखेमा पटकैपिच्छे १० हजार तथा कारोवारको लेखा निरीक्षण गर्न नदिएमा पटकैपिच्छे २० हजार रुपैयाँ दण्ड र जरिवाना लाग्ने भएको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाले व्यवसाय दर्ता तथा नविकरण सहितका बैधमानिक प्रकृया पालना नगरे आफैं कानुनी फन्दामा पर्नेतर्फ सचेत भइदिन व्यवसायीलाई आग्रह गर्नु भएको छ । ‘खरिद गर्नेले पनि बिल लिनु पर्छ र बिक्री गर्नेले अनिवार्य बिल दिनुपर्छ’थापाले भन्नुभयो । खरिद गर्ने चिजबस्तुको उपभोग गर्न सकिने म्याद एकिन गरेर मात्र खरिद गर्न उहाँले क्रेतालाई आग्रह गर्नु भएको छ । व्यवसायीले म्याद नाघेका बस्तु बिक्री स्थलबाट हटाएर म्याद सकिएको संकेत गरी छुट्टै राख्न,मूल्य सूची सार्वजनिक ठाउँमा सबैले देख्ने गरी राख्न र प्रचलित दररेट भन्दा बढी मूल्य लिएर सामान बिक्री नगर्न ताप्लेजुङ उद्योग बाणिज्य संघले व्यवसायीलाई आग्रह पनि गरेको छ । दर्ता र नविकरण जस्ता बिषयमा सम्झौता नगर्न समेत थापाले व्यवसायीलाई आग्रह गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts