ताप्लेजुङ उद्योग बाणिज्य संघद्धारा उपभोग्य बस्तुको छुट मूल्यसूची सार्वजनिक,ग्याँस सिलिण्डरमा ३० रुपैयाँ घट्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २४ । ताप्लेजुङ उद्योग बाणिज्य संघले दशैं–तिहार–छैट लगायतका पर्वलाई मध्यनजर गर्दै खाना पकाउने ग्याँस सिलिण्डर सहितका दैनिक उपभोग्य बस्तुको छुट सहितको मूल्यसूची सार्वजनिक गरेको छ ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापाका अनुसार खाना पकाउने ग्याँस सिलिण्डरमा ३० रुपैयाँ छुट दिईने छ । असोज २५ गते बिहीबारबाट लागु हुने छुट मूल्य सूची अनुसार मेची र कन्काई ग्याँस प्रतिसिलिण्डर २ हजार २ सय २० र पाथीभरा ग्याँस २ हजार २ सय ५ रुपैयाँमा पाइने छ । यस्तै ५० किलोग्राम वजनको सोना चामल र उत्तिकै वजनको सोना चामलको बोरामा ५०–५० रुपैयाँ छुट दिईएको छ । अब सोना चामल प्रतिबोरा ३ हजार ४ सय ५० र किसान गोयलको ३ हजार ९ सय ५० रुपैयाँ पर्ने छ । ८५ रुपैयाँ प्रतिकिलो मूल्य रहेको किसान गोयलमा ३ रुपैयाँ छुट दिई प्रतिकिलो ८२ रुपैयाँ निर्धारण गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघले जनाएको छ । २५ किलो वजनको गोयल र सनफ्लावर तथा ३० किलो वजनको जुनेली चामलमा प्रतिबोरा २० रुपैयाँ छुट दिई २ हजार ४ सय ८० रुपैयाँ कायम गरिएको छ ।

यस्तै २० किलोग्राम वजनको सनफ्लावर चामलमा २० रुपैयाँ छुट दिई प्रतिबोरा २ हजार ३० रुपैयाँ कायम गरिएको छ । यस्तै खुल्ला चिउरा र आयोनुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिई क्रमशः८८ र २८ रुपैयाँ कायम गरिएको छ । ५ किलो वजनको ज्ञान आँटामा २५ रुपैयाँ छुट गरी ४ सय ५० तथा २ किलो वजनको ज्ञान आँटामा ५ रुपैयाँ छुट गरी १ सय ८५ रुपैयाँ कायम गरिएको छ । ठूलो दानाको मुसुरी दाल र कालो दाल फाकामा ५–५ रुपैयाँ छुट गरी प्रतिकिलो क्रमशः१ सय ५५ र १ सय ७५ रुपैयाँ बनाईएको छ । तोरीतेल सबैमा प्रतिलिटर १० रुपैयाँ छुट गरिएको छ । जस अनुसार अब घैला पौच तोरीतेल प्रतिलिटर २ सय ७० रुपैयाँ,तोरी तेल अन्य प्रतिलिटर २ सय २० रुपैयाँ,सूर्यमुखी तेल सेलो पौच प्रतिलिटर २ सय २० रुपैयाँ र सूर्यमुखी तेल अन्य प्रतिलिटर २ सय १० रुपैयाँ बनाईएको छ । जिरामा प्रतिकिलो २५ रुपैयाँ छुट गरी १ हजार २ सय ७५ रुपैयाँ कामय गरिएको छ । हरियो मटरमा ५ रुपैयाँ छुट गरी प्रतिकिलो १ सय ७५ र चुनामा प्रति पोका १० रुपैयाँ छुट गरी १ सय ४० रुपैयाँ कायम गरिएको छ ।

चिनी र चनाको मूल्य नघटाईएको ताप्लेजुङ उद्योग बाणिज्य संघले जनाएको छ । बाणिज्य संघले चिनी र चना दुबै प्रतिकिलो १ सय ३० रुपैयाँका दरले कारोवार भईरहेको जनाएको छ । छुट मूल्य मंसिर ३ गते सम्म लागु हुनेगरी बाणिज्य संघको बैठकले निर्णय गरेको ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । बाणिज्य संघले श्रिंगारका सामानमा १० प्रतिशत,रंगरोकनको हालको मूल्यमा ५ प्रतिशत,सुनचाँदीका गरगहनाको तयारी ज्यालमा २० प्रतिशत र थान कपडाको सिलाईमा १० प्रतिशत छुटको व्यवस्था गर्न सम्वन्धित व्यवसायी र व्यवसायिक संस्थाहरुलाई आग्रह गरेको छ । छुट मूल्यसूची आ–आफ्ना पसलमा सबैले देख्नेगरी टाँस्नुपर्ने नियम समेत बाणिज्य संघले बनाएको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts