ताप्लेजुङमा वनले ढाकेको क्षेत्रभन्दा करिव १४ प्रतिशत बढी खाली जमिन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १९ । ताप्लेजुङमा वनले ढाकेको क्षेत्रभन्दा करिव १४ प्रतिशत बढी क्षेत्र खाली जमिन रहेको पाइएको छ ।
डिभिजन वन कार्यालयका अनुसार ताप्लेजुङ जिल्लाको कूल क्षेत्रफल ३ लाख ६४ हजार ६ सय हेक्टर(३ हजार ६ सय ४६ वर्गकिलोमिटर)मध्ये २३.९९ प्रतिशत अर्थात् ८७ हजार ४ सय ५९ हेक्टर मात्र वन क्षेत्र रहेको छ । सबैभन्दा बढी ३७.८६ प्रतिशत अर्थात् १ लाख ३८ हजार २५.६५ प्रतिशत क्षेत्र भने खाली जग्गाको रुपमा रहेको निमित्त डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार झाडी र बुट्यान कूल क्षेत्रफलको १४.८२ प्रतिशत अर्थात् ५४ हजार ५०.८३ हेक्टरमा,खेतियोग्य जमिन ११.२१ प्रतिशत अर्थात् ४० हजार ८ सय ७०.२९ हेक्टर क्षेत्रफलमा सिमित रहेको वन कार्यालयले जनाएको छ ।
यस्तै हिउँले ढाकेको क्षेत्र ३२ हजार १ सय ७.७ हेक्टर अर्थात् कूल क्षेत्रफलको ८.८१ प्रतिशत,घाँसे मैदान र चरण क्षेत्र ८ हजार ६ सय ४९.६६ हेक्टर अर्थात् २.३७ प्रतिशतमा सिमित रहेको छ । यस्तै कूल क्षेत्रफलको ०.११ प्रतिशत(४ सय ६.१४ प्रतिशत) भीर,पहरा र चट्टानले ओगटेको छ । १ सय ४८.६३ हेक्टर(०.०४ प्रतिशत)नदीनालाले,९ सय १०.६५ हेक्टर(०.२५ प्रतिशत)पोखरी र तालले तथा १ हजार ९ सय ७२.१२ हेक्टर(०.५४ प्रतिशत)ढुङ्गा,गिटी र बालुवाले ओगटेको समेत डिभिजन वन कार्यालयले जनाएको छ ।
कूल वन क्षेत्रमध्ये डिभिजन वन कार्यालय अन्र्तगतको वन क्षेत्र ९७ हजार ६ सय ११.३६ हेक्टर,सरकारद्धारा व्यवस्थित गरिएको वन क्षेत्र ७४ हजार ७ सय १०.५९ हेक्टर,प्रस्तावित संरक्षित वन क्षेत्र(तिनजुरे–मिल्के–जलजले) १३ हजार १ सय ६८.९२ हेक्टर र सामुदायिक वन क्षेत्र ९ हजार ७ सय ३१.८५ हेक्टर रहेको छ । सामुदायिक वन उपभोक्ता महासंघ,जिल्ला महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार ताप्लेजुङमा अहिले सम्म १ सय २८ वटा सामुदायिक वन रहेका छन् । साझेदारी वनको रुपमा अहिले सम्म सामुदायिक वन भने हस्तान्तरण नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।