ग्रेट हिमालयन ट्रेल अन्तरगत नेपाली पदमार्ग भ्रमणमा आएको बिदेशी नागरिकको टोली ताप्लेजुङमा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १८ । वृहत्त पदमार्ग ठानिएको ग्रेट हिमालयन ट्रेल अन्तरगत नेपाली पदमार्ग भ्रमण तथा अवलोकनका लागि आएका ३ जना बिदेशी नागरिकलाई ताप्लेजुङबाट सोमवार सुखद् भ्रमणको कामना सहित बिदाई गरिएको छ ।

ताप्लेजुङको कञ्चनजंघा क्षेत्र समेत जान लागेको बिदेशी नागरिकको टोली यो सिजनको पहिलो भएको पर्यटन व्यवसायी तेञ्जिङनुपु शेर्पाले जानकारी दिनुभयो । टोलीमा दुई जर्मनी नागरिक लुकास र आन्ना तथा एक अष्ट्रियन नागरिक क्रिष्टोफर रहनु भएको छ । उहाँहरुलाई फुङलिङ नगरप्रमुख अमिर मादेनले भ्रमणका लागि आएकोमा स्वागत गर्दै भ्रमण सफलताको कामना सहित बिदाई गर्नु भएको छ ।‘ग्रेट हिमालयन ट्रेलको बृहत्त पदमार्गको भ्रमण सफल रहोस्’बिदेशी नागरिकको टोलीलाई बिदाई गर्दै नगरप्रमुख मादेनले भन्नुभयो । उहाँले यो भ्रमणले ग्रेट हिमालयन ट्रेल अन्तरगत नेपाली पदमार्गको पछिल्लो अवस्था,सम्भावना,समस्या र चुनौति बारे जानकारी हासिल समेत बिश्वास लिनु भएको छ ।

भ्रमण टोली ग्रेट हिमालयन ट्रेल अन्तरगत कञ्चनजंघा बेसक्याम्प–घुन्साबाट ओलाङ्चुङगोला पास गर्दै लुम्बासुम्बा हिमाल हुँदै संखुवासभाको मकालु बेस क्याम्पतर्फ लाग्ने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङनुपुले जानकारी दिनुभयो । उहाँहरुको भ्रमण ग्रेट हिमालयन ट्रेल अन्तरगत नेपाली पदमार्गक्षेत्रमै केन्द्रित हुने जानकारी आफुले पाएको समेत उहाँले बताउनुभयो । ग्रेट हिमालयन ट्रेल अन्तरगतनेपाली पदमार्ग भ्रमण पूरा गर्न करिव १ सय ५० दिन आवश्यक पर्ने बिदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङले सुनाउनुभयो । तर यो टोली कति दिन र कसरी फर्कन्छ,त्यो पूरै योजना आइ नसकेको उहाँले बताउनुभयो ।‘लक्ष्य चाँहि ग्रेट हिमालयन ट्रेलको भ्रमण नै हो’उहाँले भन्नुभयो ।

टोली फुङलिङबाट पदमार्ग हुँदै हाङ्देवा–मितलुङ–सिँवा–छिरुवातर्फ अघि बढेको छ । सडक सञ्जाल स्थापित हुनु अघि बिदेशी पर्यटकले कञ्चनजंघातर्फ जान प्रयोग गर्ने यहिँ हो । पदमार्ग मात्र हुँदा बिदेशी पर्यटकले सदरमुकाम फुङलिङबाट लेलेपतर्फको पदमार्ग प्रयोग गर्दा पहिलो क्याम्पको रुपमा मितलुङ,दोस्रो छिरुवा र तेस्रो लेलेपलाई प्रयोग गर्ने गरेका थिए । करिव ४ हजार ५ सय किलोमिटर लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करीव १ हजार ७ सय किलोमिटर भाग पर्छ । यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजंघादेखि पश्चिममा दार्चुलासम्मको भू–भाग ओगटेको छ ।

नेपालभित्र मुख्य १० क्षेत्रहरुलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो । यसमा कञ्चनजंघा, मकालु वरुण, एभरेष्ट रोल्वालिङ, हेलम्बु लाङटाङ, गणेश हिमाल मनास्लु, अन्नपूर्ण,मुस्ताङ, डोल्पा, रारा,जुम्ला, हुम्ला र सुदुरपश्चिम गरी १० भागमा विभाजन गरिएको छ । ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts