पहिरोको उच्च जोखिममा रहेका गाउँ तथा बस्ति सार्ने मैवाखोलाको अभियान,तीन दिनमा १५ वटा अस्थायी घर बने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १४ । पहिरोको उच्च जोखिममा रहेका परिवारलाई अस्थायी एकिकृत बस्ति निर्माण गरी स्थानान्तरण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिकाले अभियानको तेस्रो दिन सम्म १५ वटा घर बनाईसकेको जनाएको छ ।

गाउँपालिकाले पहिरो प्रभावित मैवाखोला गाउँपालिका वडा नं ४ ओदक क्षेत्रका ६१ र अन्य क्षेत्रका ३ गरी ६४ घर परिवारलाई अस्थायी एकिकृत बस्तिमा स्थानान्तरण गर्ने योजना बनाएको छ । सोहि अनुसार मैवाखोला गाउँपालिका वडा नं ३ स्थित अधुरो रहेको मदन भण्डारी रंगशालामा अस्थायी एकिकृत बस्तिका लागि अस्थायी घरहरु निर्माण भइरहेका छन् ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले अस्थायी एकिकृत बस्ति निर्माणको काम तीव्र गतिमा भइरहेको भन्दै पालिका भित्र गठित सबै टोल विकास संस्थामा आवद्ध सदस्यहरुलाई श्रम शिविरमा सहभागी हुन आवह्वान गर्नु भएको छ । उहाँले टोल विकास संस्थामा आवद्ध सदस्यहरुले जनश्रमदानमा सहभागी हुदाँका बखत सम्वन्धित वडाका वडाध्यक्षसंग समन्वय गर्न आग्रह समेत गर्नु भएको छ ।

मनसुन समय कायम रहेको र ओदक क्षेत्रका घरहरु पहिरोका कारण उच्च जोखिममा रहेकोले तत्कालका लागि एकिकृत बस्ति बनाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने सर्बपक्षिय निश्कर्षका आधारमा पालिकाले एकिकृत बस्ति बनाउने कार्य सुरु गरेको हो । पालिका अध्यक्ष वनेमले अस्थायी एकिकृत बस्तिलाई दीर्घकालिन रुपमा स्थानान्तरण गरी जोखिम प्रभावित घरपरिवारलाई थप स्थानान्तरण गरिने जानकारी दिनुभयो ।

गत असार २ गते राति आएको पहिरोका कारण ओदक क्षेत्रका घर तथा बस्तिहरु उच्च जोखिममा छन् । गाउँपालिकाले अस्थायी एकिकृत बस्तिका निर्माणमा स्थानीय कच्चा पदार्थको प्रयोग गरिरहेको छ । पालिका अध्यक्ष वनेमका अनुसार एउटा घर बनाउन कम्तिमा १ लाख ५० हजार रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको छ । सोहि अनुसार ६४ वटा अस्थायी घर बनाउन झण्डै १ करोड रुपैंयाँ हाराहारी खर्च हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts