| |

ताप्लेजुङमा साहित्यिक भेटघाट तथा साहित्य वाचन

अरुलाई पनि शेयर गरौ !

-टीका यक्सो लिम्बू
ताप्लेजुङ, असार १६ । ताप्लेजुङमा अग्रज तथा नवोदित साहित्यकार स्रष्टाहरुबीच भेटघाट तथा साहित्य वाचन सम्पन्न गरिएको छ । शनिबार सदरमुकाम फुङ्लिङस्थित होटल पाथीभराको सभाहलमा भएको जमघटमा स्रष्टाहरुले विभिन्न विधाका साहित्य प्रस्तुत (वाचन) गर्नुभएको हो ।
जिल्लास्थित प्रगतिशील लेखक संघको समन्वयमा भएको जमघटमा स्रष्टाले कविता, गजल, सायरी, गीतजस्ता विधा प्रस्तुत गर्नुभएको थियो । अग्रज साहित्यकार तथा ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईसहित जिल्लाका अग्रज तथा नवोदित (नयाँ पुस्ता) स्रष्टाले आ–आफ्नो रचना सुनाउनुभएको थियो ।
प्रगतिशील लेखक संघका जिल्ला अध्यक्ष तथा अग्रज साहित्यकार कमलप्रसाद भट्टराई, भरतकुमार गुरुङ, शान्तिराम नेपाल, मानसिङ राई, उदय भट्टराईलगायतले आफ्नो रचना सुनाउनुभयो । त्यस्तै नवोदित स्रष्टा तथा संघका जिल्ला सचिव प्रजिन हाङ्बाङ, तेजकुमार मैनाली, झरेन्द्र तिवारी र जीवन कालिकोटेले रचना प्रस्तुत गर्नुभएको थियो ।
अतिथि स्रष्टा कञ्चनपुरका निर्जल प्रशान्त लेखक र भोजपुरका नवराज भट्टराईले पनि साहित्य वाचन गर्नुभएको थियो । पछिल्लो समय जिल्लामा साहित्य सृजना तथा गतिविधि हराउँदै गएकोभन्दै साहित्यलाई पुनःजागरण गर्ने उद्देश्यसहित साहित्यिक गरिएको प्रगतिशील लेखक संघले जनाएको छ । साहित्यिक गतिविधिलाई जीवित राख्ने सोच हुँदा–हुँदै पनि आर्थिकलगायत विभिन्न स्रोतको अभावले निरन्तरता दिन नसकिएको जिल्लास्थित कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका सङ्घका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
यता साहित्यिक भेटघाट तथा साहित्य वाचन कार्यक्रममा उपस्थिति जनाउनुभएका फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले साहित्य रचनामार्फत समसामयिक परिवेश र वस्तुस्थितिबारे चित्रण गरिएकोमा प्रशंसा गर्नुभयो । साहित्यमार्फत सचेतना फैलाउँदै समाज र सामाजिक परिवेशमा परिवर्तन ल्याउन टेवा पु¥याउन सक्ने आफूले बुझेको अध्यक्ष लिम्बूले बताउनुभयो । उहाँले प्रगतिशील लेखक संघका लागि आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts