हेंवाखोलामा अस्थायी डाईभर्सन र बेलिब्रिज निर्माणमा भएको सुस्तताप्रति ताप्लेजुङका जनप्रतिनिधिको चासो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार १२ । पाँचथरको हेंवाखोलामा निर्माणाधिन अस्थायी डाईभर्सन र बेलिब्रिज निर्माणमा भएको सुस्तताप्रति ताप्लेजुङका जनप्रतिनिधिले चासो देखाउन थाल्नु भएको छ ।

यहिँ बिषय लिएर स्थानीय सरोकारवालासंग छलफल गर्न आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन) पोमू हेंवाखोलातर्फ लाग्नु भएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले‘आवश्यक सरसल्लाह,सुझाव र सहयोगका लागि हेंवाखोलामा भेटौं र शीघ्र समाधानको बिकल्प पत्ता लगाऔं’भन्नु भएको छ । उहाँले सोमवार साँझ हेंवाखोलामा अस्थायी डाईभर्सन बनाउन चाहिने अपुग हिमपाइपको खोजी गर्ने संकेत पनि गर्नु भएको थियो ।

उता मेरिङदेन गाउँपालिका अध्यक्ष युङहाङवीर(डम्बर)हाङ्गामले हिमपाइपको अपुग खबर पाएपछि आफुहरुले त्यसको खोजी गरेको तर पछि भेटिएको भनेपछि यहाँबाट नलगिएको बताउनु भएको छ । निर्माणको शीघ्र कामका लागि दबाब दिन उहाँ पनि हेंवाखोला जाने तयारीमा रहनु भएको छ ।

पाँचथरको हेंवाखोलामा रहेको मोटरेबल पुल बाढीले बगाएपछि अहिले मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अबरुद्ध छ । गत असार २ गते राति आएको बाढीले हेंवाखोलामा रहेको मोटरेवल पुल बगाएको थियो ।

पोमू र हाङ्गाम दुबैले पाँचथरको हेंवाखोलामा यातायात सुचारु गर्ने बिकल्प नभए त्यसको सबैभन्दा बढी मार ताप्लेजुङ र यहाँका जनतालाई पर्ने भन्दै चाँडो अस्थायी डाईभर्सन र बेलिब्रिज चाँडो निर्माण भईसक्नुपर्ने भन्नु भएको छ । खोलामा पानीको बहाव बढे फेरी अस्थायी डाईभर्सनमा क्षति पुग्ने भएकोले बेलिब्रिज निर्माण कार्य चाँडो पूरा गर्न उहाँहरुले सम्वन्धित पक्षलाई दबाब दिन थाल्नु भएको छ ।

सोमवार बिहानबाटै अस्थायी डाईभर्सनमार्फत हेंवाखोलाबाट यातायात सुरु गर्ने भनिए पनि अहिले सम्म त्यो प्रकृया पूरा भएको छैन । उता १० दिन भित्रमा बेलिब्रिज निर्माण कार्य पूरा हुने भनिएपनि त्यो कार्य पूरा हुन अझै लामो समय लाग्ने देखिएको छ । पोमू र हाङ्गामले ताप्लेजुङका अन्य जनप्रतिनिधिसंग समेत समन्वय गर्ने र सामुहिक दबाबको अवस्था सृजना गर्न आवश्यक छलफल भइरहेको बताउनु भएको छ । यसो भएमा सम्वन्धित पक्षलाई शीघ्र काम गर्न ताप्लेजुङका सम्पूर्ण जनप्रतिनिधिको निरन्तर र सामुहिक दबाब पुग्ने छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts