व्यवसायिक बाख्रा पालन किसानहरुद्धारा बिदेशी खसी बोकाको आयातमा बन्देज गर्नुपर्ने सहितका ३० बुँदे माग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २८ । उत्पादन लागत र क्षतिपूर्ति प्रोत्साहन अनुदान,जन्मेदेखि सबै अवस्थाका बाख्राको बीमा र बिदेशी खसी बोकाको आयातमा बन्देज सहितका ३० बँुदे मागपत्र पेश गर्दै व्यवसायिक बाख्रा पालन किसानले आइतवार सरकारको ध्यानाकर्षण गरेका छन् ।

व्यवसायिक बाख्रा पालन किसानले भोगेका समस्या निराकरण गरी देशलाई मासुमा आत्मनिर्भर बनाउन माग गर्दै व्यवसायिक बाख्रा पालन महासंघले आइतवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र पेश गरेको हो । ‘बाख्रा पालन किसानले भोगेका समस्याको समाधान र ग्रामीण किसानलाई आर्थिक रुपमा सवल बनाउने योजनाका साथ केन्द्रीय निर्देशन अनुसार मागपत्र पेश गरेका हौं’ व्यवसायिक बाख्रा पालन किसान महासंघ ताप्लेजुङका अध्यक्ष कमल बिष्टले भन्नुभयो । व्यवसायिक बाख्रा पालन महासंघले प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङमार्फत सरकारलाई मागपत्र पेश गरेको जनाएको छ ।

मागपत्रमा आधुनिक र सुबिधा सम्पन्न खसीबोका संकलन केन्द्र बनाउनुपर्ने,मल प्रशोधन प्लान्ट स्थापनाका लागि अनुदानको व्यवस्था गर्नुपर्ने,पायक पर्ने स्थानहरुमा आहारा प्रशोधन केन्द्र बनाउनुपर्ने,किसानका लागि व्यवहारिक र कार्यमुलक तालिमको प्रवन्ध गर्नुपर्ने,अनुभवका लागि व्यवसायिक बाख्रा पानल किसानको भ्रमण प्रवन्ध गर्नुपर्ने,बहुसरोकारवाला समन्वय कार्यशाला आयोजना गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

यस्तै सरल रुपमा कर्जाको प्रवन्ध,कृषि कर्जा मिनाह,कृषि कर्जामा समयसीमा बृद्धि,बिद्युत महशुलमा छुट,कृषि कर्जा दुरुपयोगमा कारवाही,दक्ष प्राविधिक र ल्यावको व्यवस्था,परजीवि नियन्त्रण र औषधिको व्यवस्था,सर्वसुलभ भ्याक्सिन,अनुदानको रकम र दाहेरामा बृद्धि,नापतौलमा आधारित बाख्रा तथा खसी बोका बिक्रीको प्रवन्ध,व्यवस्थित खसी बजार र बिचौलियाको अन्त्य,महंगी नियन्त्रण,बिदेशी ब्रिडहरु आयात गर्दा महासंघसंगको अनिवार्य समन्वय,सघन घाँस र खेतिका लागि जमिनको प्रवन्ध,सामुदायिक वन र सरकारी वन क्षेत्रमा कृषकको पहुँच बृद्धि,प्रविधिको उच्चतम् प्रयोग गर्ने वातावरण,व्यवसायिक सामाजिक सुरक्षा,बिदेशी नस्लका बीउ बाख्राको बीमाङ्क निर्धारण र हरेक तहका सरोकार राख्ने सार्वजनिक कार्यक्रममा बाख्रा पालक किसानको अनिवार्य संलग्नताको माग समेत उनीहरुले गरेका छन् ।

बाख्रा पालक किसानहरुले बीमा कम्पनीले नेपाल सरकारबाट पाउनुपर्ने बीमाको प्रिमियम शुल्क बापतको रका नपाएको भन्दै पशुपंक्षि तथा कृषि बालीको बीमा गर्ने र बीमाको दावी भुक्तानी गर्ने दुबै कार्य रोकेको प्रति पनि सरकारको ध्यानाकर्षण गरेका छन् । बाख्रा मानव सभ्यताको विकास देखि नै मानिसले पाल्दै आएको घरपालुवा जनावरको रुपमा रहेको छ । व्यवसायिक बाख्रा पालन महासंघको दावी अनुसार नेपालका ६० प्रतिशत बढी जनसंख्या कृषि पेशामा आश्रित रहेकोमा त्यसको करिव ५१ प्रतिशत घरमा बाख्रा पालन हुँदै आएको छ ।

जनसंख्याको आधा भन्दा बढीले अपनाएको कृषि पेशालाई आवश्यक पर्ने गुणस्तरीय मलका अतिरिक्त पोषणयुक्त आहारा मासुका लागि समेत बाख्रा पालन एक उपयुक्त माध्यमको रुपमा रहेको महासंघको दावी छ । किसानका साझा समस्या प्रति सरकार उदासिन हँुँदा यो व्यवसायमा रहेका करिव एक चौथाई बाख्रा पालकले आफ्नो व्यवसायबाट बिस्थापन हुनुपर्ने अवस्था आएकोप्रति पनि महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts