अन्तरपालिका समन्वय बैठक ः सीमा क्षेत्रका पूर्वाधारको विकास,संरक्षण र जर्गेनामा साझा दायित्व लिने निर्णय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २१ । ताप्लेजुङका तीनवटा पालिकाको अन्तरपालिका समन्वय बैठकले पालिकाको सीमा क्षेत्रका पूर्वाधारको विकास,संरक्षण र जर्गेनामा साझा दायित्व लिने निर्णय गरेको छ ।

मैवाखोला गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र सीमाक्षेत्रका वडाध्यक्षहरु समेत सम्मिलित बैठक यस्तो निश्कर्षमा पुगेको आठराई त्रिबेणी गाउँपालिकाका उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिनुभयो । समन्वय बैठकमा निर्वाचित पदाधिकारीको कार्य सम्पादनको एकबर्षे अनुभवको आदानप्रदान देखि आगामी आर्थिक बर्षका लागि प्रस्तुत हुने नीति,कार्यक्रम र बजेट बारेपनि प्राथमिक छलफल भएको थियो ।

उपाध्यक्ष आङ्बुहाङका अनुसार मैवाखोला र मेरिङदेन गाउँपालिका दुबैले मेरिङदेन झरनाको संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गर्ने सहमति बनेको छ । यस्तै मेरिङदेन र आठराई त्रिबेणी गाउँपालिका दुबैले दोभानस्थित मैवाखोलामा रहेको मोटरेबल पुलको संरक्षण गर्ने सहमति बनेको छ । यस्तै तिरतिरे देखि दोभान सम्मको सडकको संरक्षण आठराई त्रिबेणी र मैवाखोला गाउँपालिका दुबैले गर्नेगरी सहमति बनेको समेत उपाध्यक्ष आङ्बुहाङले जानकारी दिनुभयो ।

त्रिपक्षीय समझदारी पत्रमा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) र मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर हाङ्गाम(डम्बर)ले हस्ताक्षर गर्नु भएको छ ।

मैवाखोला गाउँपालिका अध्यक्ष वनेमले सीमा क्षेत्रका सवाललाई केन्द्रमा राखेर आ–आफ्नो पालिकाको अनुभव समेत आदानप्रदान हुनेगरी अन्तरपालिका समन्वय बैठकको आयोजना भएको बताउनुभयो ।‘एउटा नयाँ अभ्यासको सुरुआत भएको छ,यसलाई अरु बृहत्त र महत्वका साथ निरन्तरता दिन जरुरी छ’पहिलो बैठकको समन्वयकर्ता रहनु भएका मैवाखोला गाउँपालिका अध्यक्ष वनेमले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts