बर्षा जारी रहँदा सावधानीका लागि फक्ताङलुङको आग्रह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १३ । पर्यटकीय स्थलले सुसज्जित तथा नदी र खोला प्रसस्त रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सम्भावित विपद्का घटनाबाट जोगिन सर्तकर्ता र सावधानीका लागि आग्रह गरेको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले शुक्रवार बिहान सार्वजनिक आवह्वान गर्दै फक्ताङलुङ गाउँपालिकामा हिमाली भूगोल,प्रसस्त नदी तथा खोला र जोखिमयुक्त पदमार्ग रहेकोले अत्यावश्यक काम बाहेक घर बाहिर नजान र सुरक्षित स्थानमा रहन आग्रह गर्नु भएको छ । पालिका अध्यक्ष लिम्बूले नदी खोला,पहिरो जोखिम क्षेत्र तथा कमजोर भू–भाग भएका क्षेत्रमा अनावश्यक आवत–जावत नगर्न,घर परिवार,बालबालिका,अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक र पशुपंक्षिको सुरक्षामा बिशेष ध्यान दिन,सडक तथा पदमार्गमा पानीको उचित निकास मिलाउन र कञ्चनजङ्घा आधार शिविर, दक्षिणी आधार शिविर,घुन्सा,ओलाङ्चुङगोला,टिपताला लगायत उच्च हिमाली क्षेत्रमा भ्रमणरत पर्यटकले मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न आग्रह गर्नु भएको छ ।
पालिका अध्यक्ष लिम्बूले होटल,होमस्टे तथा लज सञ्चालकहरूले पर्यटकको अवस्था,खाद्यान्न,न्यानो कपडा, सञ्चार र प्राथमिक उपचारको व्यवस्था सुनिश्चित गर्न समेत आग्रह गरेका छन् । स्थानीय पथप्रर्दशक तथा सम्वन्धित निकायको आधिकारिक सल्लाह बेगर जोखिमपूर्ण पदयात्रा नगर्न र जोखिम देखिएमा तत्काल सम्वन्धित वडा कार्यालय,गाउँपालिका र स्थानीय सुरक्षा निकायमा खबर गर्न समेत सम्वन्धित सबैलाई आग्रह गर्नु भएको छ । ताप्लेजुङमा बिहीबार बिहानबाट हुन थालेको बर्षा बेलुकीबाट शुक्रवार बिहानसम्म निरन्तर भइरहेको छ ।
ओलाङ्चुङगोलामा रहनु भएका पर्यटन अभियान्ता हेमराज निरौलाले निरन्तरको बर्षा र डाँडाकाँडातर्फ भइरहेको सामान्य हिमपातका कारण नाङगोलापास हुँदै लुम्बासुम्बा हिमाल पासगरी मकालुतर्फ जाने स्वदेशी तथा बिदेशी पर्यटक र सिङ्जेमा ताल तथा स्याम्दो पोखरीसम्मको भ्रमणमा निस्किएका नागरिकहरु थप जोखिमको आशंकामा ओलाङ्चुङगोलामा रहेको जानकारी दिनुभयो । निरन्तरको बर्षा र सामान्य हिमपातले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित उच्च हिमाली क्षेत्रमा चिसो भने ह्वात्तै बढाएको छ ।