दसैँ भित्रिएसँगै फुङ्लिङ बजारमा बढ्यो चहलपहल
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २९ । दसैँ पर्व भित्रिएसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा चहलपहल बढेको छ । चाडपर्व मनाउनका लागि आवश्यक पर्ने सामान किनमेल गर्ने मानिसका कारण फुङ्लिङ बजारमा चहलपहल बढेको हो ।
दसैँको नवरात्रि सुरु भएपछि र चाडको मुख्य दिनहरु नजिकिँदै गएसँगै बजारमा चहलपहल बाक्लिएको स्थानीय व्यवसायीले बताएका छन् । दसैँका लागि आवश्यक पर्ने खाद्यान्न, नयाँ कपडासहितका सामग्री किनमेल गर्ने ग्राहकका कारण फुङ्लिङ बजारमा चहलपहल बढेको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष विकास गौतमले बताउनुभयो ।
स्थानीय खाद्यान्न व्यापारीसमेत रहनुभएका अध्यक्ष गौतमका अनुसार दुई/चार दिनयता सदरमुकाममा मानिसको चहलपहल बढेको हो । फुङ्लिङ बजारका खाद्यान्न, फेन्सी कपडा लगायतका पसलमा अहिले ग्राहकको चाप बढेको उहाँको भनाइ छ । विगतको अनुभवअनुसार दसैँको सप्तमी अर्थात फुलपातीको दिनसम्म बजारमा निकै चहलपहल हुने गरेको उहाँले सुनाउनुभयो ।
उद्योग बाणिज्य संघका अध्यक्ष गौतमका अनुसार दसैँ, तिहार र छठ पर्वको अवसरमा उपभोक्तालाई सहुलियत दिन उपभोग्य वस्तुमा छुट सुविधा पनि दिइएको छ । विशेषगरी उपभोग्य वस्तु चामल, दाल, चिनी, खानेतेल, पिठो, चिउरा लगायतका खाद्यान्न सामग्रीमा पाँच रुपियाँदेखि ५० रुपियाँसम्म मूल्यमा छुट गरिएको उहाँले जानकारी दिनुभयो ।
चाडपर्वको अवसरमा सर्वसाधारण सेवाग्राहीलाई थोरै भए पनि छुट सुविधासहित सहुलियत दिनेगरी उद्योग बाणिज्य संघले निर्णय गरेको कार्यान्वयन गर्न फुङ्लिङ बजारका व्यापारी तथा व्यवसायीलाई संघले अनुरोध पनि गरेको छ । यता अनिवार्य उपभोग्य वस्तुको रुपमा रहेको खाना पकाउने एलपी ग्यासको भने जिल्ला अभाव रहेको छ । मागअनुसार आयात नहुँदा बजारमा ग्यासको अभाव रहेको व्यवसायीले बताएका छन् ।