|

बुद्धिचालमा हेल्लोक, सुब्बा, गुरुङ र सेनेहाङ छनोट

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २९ । ताप्लेजुङ जिल्लास्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सम्पन्न भएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचालको जिल्लास्तरीय छनोट प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।
जिल्ला खेलकुद विकास समितिको समन्वयमा ताप्लेजुङ बुद्धिचाल संघले आयोजना गरेको जिल्लास्तरीय छनोट प्रतियोगितामा दुईजना पुरुष र दुईजना महिला छनोट हुनुभएको छ । ताप्लेजुङ बुद्धिचाल संघका सचिव केवल मादेनका अनुसार पुरुषतर्फ मनिष हेल्लोक र सेम सुब्बा छनोट हुनुभएको हुनुभएको छ ।
त्यस्तै महिलातर्फ रुपा गुरुङ र लिरा सेनेहाङ लिम्बू छनोट हुनुभएको सचिव मादेनले जानकारी दिनुभयो । जिल्लास्तरीय छनोट प्रतियोगितामा पुरुषतर्फ सहभागी भएका ३३ जनामध्ये प्रथम र दोस्रो स्थान हासिल गर्दै क्रमशः हेल्लोक र सुब्बा छानिनुभएको हो । महिलातर्फ छ जना सहभागी भएकोमा गुरुङ र सेनेहाङ छनोट हुनुभएको हो ।
जिल्लाबाट छनिनुभएका हेल्लोक, सुब्बा, गुरुङ र सेनेहाङले बुद्धिचालको कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउनुहुने छ । यसअघि बुद्धिचालको जिल्लास्तरीय छनोट प्रतियोगिताको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य विमल भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार थेबे, उपाध्यक्ष अन्जना कडरिया, कार्यालय प्रमुख यज्ञनिधि पौडेललगायतको उपस्थिति रहेको थियो । प्रदेशस्तरीय छनोट प्रतियोगिताका जिल्लाबाट छानिनुभएको बुद्धिचालका खेलाडीलाई जिल्ला खेलकुद विकास समिति र ताप्लेजुङ बुद्धिचाल संघले बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
यता प्रतियोगिताको भूमिका आर्विटर (निर्णायक) को भूमिकामा रमेश थेबे र सुवास रिजाल रहनुभएको थियो । आर्विटरको दायित्व बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने, नियमको पालना गराउने र विवाद समाधान गर्ने रहेको हुन्छ ।

Similar Posts