मन्दिरको उत्पति किम्वदन्तीसंग जोडिएको ‘भेडा’को बथान पाथीभरा मन्दिर पुग्दा विधिपूर्वक पूजाअर्चना गरी छाडियो

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १९ । मन्दिरको उत्पति किम्वदन्तीसंग जोडिएको ‘भेडा’को बथान ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आईपुगेपछि सोमवार बिहान मन्दिरको परिक्रमा गराई पूजापाठ गरी छाडिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार लेकबाट उधों झारिएको भेडाको बथान मन्दिर क्षेत्र आएपछि मन्दिरको परिक्रमा पश्चात पूजाअर्चनाको मुख्य द्धारमा प्रवेश विधिपूर्वक पूजापाठ गरी छाडिएको हो । पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । किम्वदन्ती अनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठबाट भेडाहरू अलप भए ।

किम्वदन्ती अनुसार त्यस्तो अकल्पनिय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शनदिई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै,भेडा बलिसहित पूजा अर्चनाका लागि निर्देश गरिन् । आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी भेडाको थुम्बा बलि दिए । बलि पछि हराएका भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । देवस्थल उत्पत्तिको यही किम्वदन्तीका आधारमा मन्दिर क्षेत्रमा आइपुगेका भेडाको बथानलाई विधिपूर्वक पूजा अर्चना गरी पठाईएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी महतले बताउनुभयो ।

 

Similar Posts