|

कार्यबाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर दोभानका अग्निपीडितलाई राहत र बासस्थानको व्यवस्था गर्न माग

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ९ । ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई तत्काल राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न सरकारसमक्ष माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुको एक टोलीले शुक्रबार कार्यबाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गदै अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न माग गरेको हो ।
रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य मिङमाग्याबु शेर्पा (मिङमा डेभिड) को नेतृत्वमा गएको टोलीले दोभान बजारका अग्निपीडितलाई तत्काल राहत तथा अस्थायी बासस्थानको व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराएको हो । दोभान बजारका अग्निपीडितलाई सरकारले उचित राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न माग गरिएको रास्वपा नेता मिङमाडण्डु शेर्पाले जानकारी दिनुभयो ।
तमोर नदी र मैवा खोलाको किनारमा आफैँमा जोखिम रहेको दोभान बजार पटक–पटक आगलागीको चपेटामा पर्दै आएकोबारे कार्यबाहक प्रधानमन्त्री वाग्लेसमक्ष अवगत गराउँदै अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको नेता शेर्पाले बताउनुभयो । सांसद शेर्पासँगै नेता शेर्पा, रास्वपा ताप्लेजुङका सचिव लीलाराज पौडेल, निवर्तमान जिल्ला सभापति इन्जिनियर वीरेन्द्र श्रेष्ठ, गोपाल गुरुङ लागतयको टोलीले कार्यबाहक प्रधानमन्त्री वाग्लेलाई भेट गरेको हो ।
बिहीबार दिउँसो दोभान बजारमा भएको आगलागीबाट १० घर जलेर नष्ट हुँदा घरधनीसहित १७ परिवार विस्थापित भएका छन् । आगलागीबाट १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको छ । दोभान बजारमा यसअघि २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी भएको थियो । त्यसबेला भएको आगलागीबाट ४९ घर जलेर नष्ट हुँदा करिव ४० करोड रुपियाँ बढी क्षति हुन पुगेको थियो । दोभान बजार सदरमुकाम फुङ्लिङ पछिको दोस्रो ठुलो बजार तथा व्यापारिक केन्द्र हो ।

Similar Posts