खोरेत रोग बिरुद्ध खोप अभियान सञ्चालन गर्दै मिक्वाखोला
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकाले पालिकाका ५ वटै वडामा असोज ५ र ६ गते खोरेत रोग बिरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमका अनुसार वडा नं ३ लिवाङमा असोज ५ गते तथा वडा नं ५ पापुङ,वडा नं २ खोक्लिङ थापागाउँ,वडा नं १ खोक्लिङ र वडा नं ४ साँवामा खोरेत रोग बिरुद्धको खोप अभियान सञ्चालन हुने छ । वडा नं ५ पापुङका लागि भवानीप्रसाद उप्रेति,मिमबहादुर सिंह र सुजन कार्कीलाई खोपकर्ता तथा प्राविधिकको जिम्मेवारी दिएको पालिकाले जनाएको छ । वडा नं २ थापागाउँका लागि डिलबहादुर खड्का,वडा नं १ खोक्लिङका लागि सविन अधिकारी,वडा नं ३ लिवाङका लागि निसा गोतामे र वडा नं ४ साँवाका लागि कविता गुरुङले खोपकर्ताको रुपमा भूमिका निर्वाह गर्ने पालिकाले जनाएको छ ।
वडा नं ३ लिवाङमा मिक्वाखोला गाउँपालिकाको समन्वय तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको आयोजनामा असोज २ गते शुक्रवार एकदिने पशु स्वास्थ्य शिविर समेत सम्पन्न भइसकेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार शिविरका क्रममा पशुहरुको स्वास्थ्य परीषण तथा आवश्यक स्वास्थ्य सामग्री र परार्मश सेवा प्रदान गरिएको थियो ।