ताप्लेजुङ गोल्डकपमा भाग्यशाली एक दर्शकले टीभिएस कम्पनीको स्कुटर उपहार पाउने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ७ । ताप्लेजुङमा भदौ १२ देखि हुने चौथो ताप्लेजुङ गोल्डकपका दर्शकमध्ये एकजनाले भाग्यशाली उपहार अन्तरगत एकथान टीभिएस कम्पनीको स्कुटर पुरस्कार पाउने भएका छन् ।
टिकट काटेर खेल हेर्ने अवलोकनर्तामध्ये एकजनालाई टीभिएस कम्पनीको एकथान स्कुटर उपहारस्वरूप प्रदान गर्नेगरी आयोजक लाखेजात्रा सञ्चालन समिति र टीभिएस कम्पनीबिच सम्झौता भएको हो । समितिका अध्यक्ष सागर मादेनका अनुसार क्वाटरफाइनल,सेमिफाइनल र फाइनल खेलको टिकटलाई संयुक्त रुपमा भेला गरी गोलाप्रथाद्धारा एकजना भाग्यशाली पुरस्कार प्राप्तकर्ता छनौट गरिने । फाइनलको दिन गोलाप्रथा गरिने र भाग्यशाली विजेतालाई उपहार स्वरुप टीभिएस कम्पनीको स्कुटर प्रदान गरिने मादेनले बताउनुभयो । विगतका वर्षमा दैनिक रुपमा आकर्षक उपहार स्वरुप एन्ड्रोइड मोबाइल प्रदान गरेको समितिले यसवर्ष २ लाख ८० हजार बढी मूल्यको स्कुटर प्रदान गर्न लागेको हो । यो उपहारको गोलाप्रथामा सहभागी हुनका लागि दर्शकले टिकट खरिद गर्नुपर्ने हुन्छ । आयोजकले क्वाटर फाइनलका ४ खेलका लागि प्रतिखेल २ सय रुपैया,सेमीफाईनल चरणका प्रत्येक खृलका लागि ३ सय रुपैयाँ र फाइनल खेलका लागि जनही ५ सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ ।
आयोजकले सम्पूर्ण खेलको अवलोकनका लागि जनही एकमुष्ट ३ हजार रुपैयाँ टिकट दर निर्धारण गरेको छ । खेलका लागि सहयोग समेत हुनेगरी प्याकेज टिकट दर निर्धारण गरिएको आयोजक समितिले जनाएको छ । ३ हजार रुपैयाँको प्याकेज टिकट खरिद गर्ने दर्शकलाई हरेक दिन आकर्षक पुरस्कारको व्यवस्था गरिएको र स्कुटर अफरमा समेत सहभागिता गराईने सक्ने आयोजकको भनाइ छ । भदौ १२ देखि १९ गतेसम्म फुङलिङमा हुने प्रतियोगितामा आयोजकको एकसहित ८ टीम खेलमा सहभागी हुँदैछन् । प्रतियोगितामा आयोजक ताप्लेजुङको टीम,भारतको जर्जियन युनाइटेड फुटबल क्लब,चित्लाङ फुटबल क्लब मकवानपुर,फिदिम स्पोर्टिङ क्लव पाँचथर,सातदोबाटो फुटबल क्लब,सलहेश युवा क्लब,झापा–११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच सहभागी हुँदैछन् । बिजेताले नगद ७ लाख २ हजार ८३ र उपबिजेताले ३ सय ५२ हजार ८३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको एकथान मोटर साइकल उपहार प्रदान गरिने भएको छ । तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपमा बिजेता टीम सलहेश फुटबल क्लवका छिरिङ गुरुङले सर्बोत्कृष्ट खेलाडीले बन्दै एक थान यमाहाको मोटर साईकल उपहार पाउनु भएको थियो ।