नन् ग्रेड बिद्यार्थी उन्मुलन भएको पालिका बनाउने मैवाखोलाको योजना,सिकाई सुधारलाई प्रभावकारी बनाईने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका सामुदायिक बिद्यालयको नतिजा नन् ग्रेड(उर्तीण आवश्यक अंक भन्दा कम)उन्मूलन गर्नेगरी सिकाई सुधारलाई व्यवस्थित गर्ने भएको छ ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सबै उमेर समूहका बालबालिकालाई बिद्यार्थीमा भर्ना हुने,पढ्ने र सिक्ने वातावरण सुनिश्चित गरिने छ । सिकाईको गुणस्तर र नतिजामा सुधार ल्याउने गरी पालिकाले शैक्षिक क्रियाकलापलाई बिशेष प्राथमिकता दिएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । बिषयगत शिक्षकका लागि क्षमता विकास कार्यक्रम,बिद्यार्थीको पढाईलाई प्रभावकारी बनाउन अभिभावकको भूमिकामा बृद्धि र पढाईको अवस्था बारे वडा शिक्षा समिति,गाउँ शिक्षा समिति र गाउँपालिकाद्धारा नियमित अनुगमन तथा मूल्याङ्नको कार्य गरिने पालिकाले जनाएको छ । सार्वजनिक शिक्षा सुधारलाई व्यवस्थित गर्न पालिकाले शिक्षकहरुका लागि दण्ड,जरीवाना र पुरस्कारको नीति लिएको छ । प्रभावकारी र गुणस्तरीय शिक्षण सिकाईमार्फत बिद्यार्थीको नतिजामा ब्यापक सुधार ल्याउने शिक्षकलाई पुरस्कार र बिद्यालयमा गई तोकिएको जिम्मेवारी पूरा नगर्ने शिक्षकलाई दण्ड र जरीवाना गर्ने पालिकाको तयारी रहेको छ ।

पालिकाले निर्माण गरेको ५ बर्षे शैक्षिक रणनीति अनुुसारका सम्पूर्ण क्रियाकलापलाई समेट्ने गरी पालिकाले प्रत्येक बर्ष शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ । शैक्षिक रणनीति अनुसारको शैक्षिक प्रगति भए नभएको नियमित मूल्याङ्कन गरी सोहि आधारमा थप कार्यनीति तय गरिने पालिका शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । पालिकाले स्वस्थ्य शैक्षिक प्रतिश्पर्धामा आधारित रहेर राम्रो शैक्षिक अभ्यास तथा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रधानाध्यापक,प्राथमिक तह,आधारभूत तह,माध्यमिक तह,बिषयगत शिक्षक र बाल विकास शिक्षकलाई उत्कृष्टताको आधारमा पुरस्कृत गर्दै आइरहेको जनाएको छ । पालिकाले थोरै बिद्यार्थी भएका बिद्यालयहरुलाई एकआपसमा गाभ्ने तथा तह घटाउने कार्यलाई अघि बढाउने भएको छ भने शिक्षकहरुको दरबन्दी मिलान गरी शिक्षकहरु अपुग भएका बिद्यालयहरुमा शिक्षकको अभाव हटाउने भएको छ ।

पालिकाले कक्षा ११ र १२ को पढाई निःशुल्क बनाउने भएको छ । पालिका भित्रका प्रत्येक टोलमा पुगी शिक्षा सुधारका लागि अभिभावक जागरण अभियानलाई पालिकाले निरन्तर रुपमा अघि बढाउने भएको छ । बिद्यार्थीको पहिलो पाठशाला घर भएको र बिद्यालय समयको करिव ६ घण्टा बाहेक बिद्यार्थीको बाँकी सबै अवधि घरमै बित्ने भएकोले अभिभावकमार्फत बिद्यार्थीको पढाई सुधारका लागि अभिभावक जागरण अभियानलाई निरन्तरता दिईने पालिका अध्यक्ष वनेमले बताउनुभयो । पालिकाले चालु बर्षमै पूर्वाधार नभएका पालिकाका सबै बिद्यालयलाई पूर्वाधार,विज्ञान प्रयोगशाला र आईसिटी ल्याव स्थापना गरेर न्यूनतम् शैक्षिक पूर्वाधार भएका बिद्यालयको रुपमा स्तरबृद्धि गर्ने बताएको छ । पालिकाले‘हाम्रो अस्पतालमा,हाम्रै डाक्टर’अभियानमार्फत ५ बर्षमा एक एमबिबिएस डाक्टर उत्पादन गरी कम्तिमा ५ बर्ष पालिकामै सेवा गर्नुपर्ने नीतिलाई पूर्णतया कार्यान्वयन गर्ने जनाएको छ ।

Similar Posts