फुनपाको आर्थिक ऐन : खुल्ला रुपमा पशु वध तथा बिक्री गर्ने देखि जथाभावी फोहोर फाल्नेसम्म कारवाहीको दाहेरामा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २३ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले खुल्ला ठाउँमा पशु वध गरी बिक्री गर्ने देखि जथाभावी फोहोरमैला फाल्नेसम्मलाई दण्ड र जरीवानाको व्यवस्था गरेको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षका लागि जारी गरेको आर्थिक ऐन अनुसार खुल्ला ठाउँमा पशु वध गर्ने तथा बेचबिखन गर्ने कार्य गरेमा पहिलो पटकका लागि ५ सय,दोस्रो पटकका लागि १ हजार र तेस्रो पटकका लागि २ हजार रुपैयाँ जरीवाना गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार गुणस्तहिन मासुजन्य पदार्थ बिक्री बितरण गरेमा जफत तथा नष्ट गरी पहिलो पटकका लागि २ हजार,दोस्रो पटकका लागि ४ हजार र सो पश्चात फेरि उही कार्य दोहोरिएको पाईए प्रति पटक ८ हजार रुपैयाँका दरले जरीवाना गरिने छ । तोकिएको स्थान बाहेक जथाभावी फोहोरमैला फाल्नेलाई पहिलो पटकका लागि ५ सय,दोस्रो पटकका लागि १ हजार र त्यसपछि प्रति पटक २ हजार रुपैयाँका दरले जरीवाना तिराईने गरी नगरपालिकाले आर्थिक ऐन कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले अहिले सदरमुकाम क्षेत्रको फोहोर सातामा तालिका बनाएर घर–घरबाटै संकलन गरी नगरपालिकाको ल्याण्ड फिल्ड साइटमार्फत बिर्सजन र व्यवस्थापन गर्दै आइरहेको छ ।
नगरपालिकाको बजार अनुगमन समितिको अनुगनबाट व्यवसायिक मापदण्ड विपरितको कार्य भएको कैफियत देखिए पहिलो पटकका लागि सामग्रीको मूल्यको दोब्बर र दोस्रो पटकका तेब्बर तथा सो भन्दा उताको अनुगमनमा उही कार्य दोहोरिएको पाईए व्यवसाय बन्दका लागि सम्वन्धित निकायमा लेखी पठाइने भएको छ । अनुमति नलिई बिद्यालय सञ्चालन गरेको पाईएमा तोकिएको अनुमति दस्तुर दरमा प्रतिबर्ष सत प्रतिशतका दरले दण्ड जरीवाना गर्ने नगरपालिकाले जारी गरेको आर्थिक ऐनमा उल्लेख गरिएको छ । बिद्यालयले बुझाउनुपर्ने विवरणहरु(शुल्क तथा छात्रबृत्ति विवरण र ईमिसको तथ्याङ्क प्रविष्टी)समयमा नबुझाएमा आधारभूत तहलाई १ हजार र माध्यमिक तहलाई २ हजार रुपैयाँ जरीवाना लिने नगरपालिकाले बनाएको आर्थिक ऐनमा भनिएको छ । नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाले पेश गर्नुपर्ने मासिक प्रगति विवरण प्रत्येक अर्को महिनाको ७ गते भित्र पेश नगरेमा प्रति महिना ५ सय रुपैयाँका दरले जरीवाना लाग्ने भएको छ ।
सहकारी संस्थाले बार्षिक साधारणसभा प्रत्येक बर्षको पुस मसान्तभित्र सम्पन्न गरी माघ महिनाको १५ गते भित्र सोको प्रतिबेदन नबुझाएमा नगरपालिकाले प्रत्येक बर्ष १ हजार रुपैयाँका दरले जरीवाना असुल गर्ने भएको छ । नगरपालिकाले सडक पेटी अतिक्रमण गरी ठेला गाडा राख्नेलाइ पहिलो पटक ३ सय,दोस्रो पटक ६ सय,चौथो पटक १ हजार र सो भन्दा उता पनि उक्त कार्य दोहोरिए ठेलागाडा जफत गरी लिलाम वा नष्ट गर्ने भएको छ । सडक पेटि अतिक्रमण गरी व्यवसाय सञ्चालन गर्नेलाई पहिलो पटक ५ सय दोस्रो पटक १ हजार र तेस्रो पटक २ हजार रुपैयाँका दरले जरीवाना लिने नगरपालिकाको निर्णय रहेको छ ।
अवैध रुपमा ढुङ्गा,गिटी,वालुवा र माटो उत्खनन् गरी चोरी निकासी गरे नगरपालिकाले १ हजार देखि २५ हजार रुपैयाँसम्म जरीवाना गर्ने भएको छ । नगरपालिकाले ढुङ्गा,गिटी,वालुवा र माटोको अवैध उत्खनन् तथा चोरी निकासी वापत लिईने जरीवाना शुल्क बेग्ला–बेग्लै रुपले तोकेको छ । ढुङ्गा,गिटी,वालुवा र माटो तेस्रो पटकको जरीवाना पश्चात पनि चोरी निकासी गरेको पाईए नगरपालिकाले स्थानीय प्रशासनलाई अनुरोध गरी सवारी साधन जफत गरी निजबाट तेस्रो पटक गरेको जरीवानाको सत प्रतिशत थप जरीवाना रकम असुल उपर गर्ने नगरपालिकाको चालु आवको आर्थिक ऐनमा भनिएको छ ।