ताप्लेजुङमा सोमवार अपरान्ह फेरी थपिए ८ संक्रमित,एकैदिन संक्रमित हुनेको संख्या २१ पुग्यो
खगेन्द्र अधिकारी
ताप्लेजुङ, मंसिर १५ । ताप्लेजुङमा सोमवार अपरान्ह फेरी ८ जना कोरोना संक्रमित थपिएका छन् । दिउँसो १३ जना नयाँ संक्रमित थपिएका थिए । यो सहित सोमबार एकैदिन ताप्लेजुङमा २१ नयाँ कोरोना संक्रमित थपिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभयो । अपरान्ह प्राप्त नतिजा अनुसार पाथीभरा याङ्वकर गाउँपालिकाबाट संकलन गरी पठाइएको २० जनाको स्वाब परीक्षण रिर्पोटमा ८ जनाको रिर्पोट पोजेटिभ आएको छ । यसअघि त्यहाँ कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पाइएपछि उनीसंगको सम्पर्कमा र शंकास्पद अवस्थामा समेत गरी २० जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये ८ जनामा कोरोना संक्रमण पाइएको प्रजिअ चापागाँइले जानकारी दिनुभयो । कोरोना पोजेटिभ रिर्पोट आएका सबैजना कन्ट्रयाक ट्रेसिङमा परी आइसोलेसनमा रहेकोले संक्रमण थप नियन्त्रण बाहिर नजाने अवस्था रहेको प्रजिअ चागागाँइले बताउनुभयो । यसअघि दिँउसो फुङ्लिङ नगरपालिकाकाले अगुवाइमा ६० जनाको स्वाब परीक्षणका लागि पठाएकामा १३ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको थियो । एकजनाको‘फलोअप’अर्थात् निगारानीमा बस्नुपर्ने गरीको नतिजा आएको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ३५ पुगेको छ । सोमवार २१ जना थपिएका छन् भने यसअघि १४ जनामा संक्रमण थियो । संक्रमित १४ मध्ये १ जनाको दोस्रो पटकको पीसीआर परीक्षण रिर्पोय पनि पोजेटिभ आएको ताप्लेजुङ अस्पतालले जनाएको छ ।