मैवाखोलाको बजेट अधिबेशनको चौथो बैठक असार २६ मा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २२ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको १९ औं बजेट अधिबेशनको चौथो बैठक २०८३ साल असार २६ गतेका लागि बोलाईएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार बैठकमा आगामी आर्थिक बर्ष २०८३।८४ को आर्थिक विधयेक २०८३ तथा आव २०८३।८४ को बार्षिक बजेट तथा कार्यक्रममाथि छलफल र पारितका लागि पेश हुने कार्यसूची रहेको छ । शेर्पाका अनुसार बैठकमा न्यायिक समितिको उजुरीको कारवाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधि सम्वन्धमा व्यवस्था गर्न बनेको विधयेक २०८३ सम्वन्धी बिधायन समितिको प्रतिबेदन प्रस्तुत तथा पारितका लागि पेश,मैवाखोला स्थानीय सिचाँई विधयेक २०८३ सम्वन्धी बिधायन समितिको प्रतिबेदन प्रस्तुत तथा पारितका लागि पेश र अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिबेदन पेश गरी जम्मा ४ वटा कार्यसूची रहेका छन् ।
मैवाखोला गाउँपालिकाले गत जेठ २१ गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सभामा पेश गरेको थियो । बजेट अधिबेशनको दोस्रो बैठकमा नीति तथा कार्यक्रम पारित गरिएको थियो भने असार ९ गते सम्पन्न सभामा उपाध्यक्ष कमलकुमारी लिम्बूले आर्थिक विधयेक तथा आगामी आर्थिक बर्षका लागि बजेट पेश गर्नु भएको थियो । यस्तै बिधायन समितिका सभापति राजुमान लिम्बूले न्यायिक समिति सम्वन्धी बिधयेक,आर्थिक विकास समितिका सभापति नरेन्द्र लिम्बूले सिचाँइ विधयेक र अर्थ तथा सार्वजनिक लेखा समितिका सभापति चन्द्रमान लिम्बूले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिबेदन पेश गर्नु भएको थियो । पेश भएका बिधयेक तथा प्रतिबेदन पारित भएसंगै १९ औं बजेट अधिबेशन अन्त्य हुने पालिकाले जनाएको छ ।