चालु आवमा दाजुभाईले लिए आमाको नामबाट नागरिकता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २५ । चालु आर्थिक बर्ष २०८२।८३ मा पहिलोपटक जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट एकाघरका दुई दाजुभाईले आमाको नामबाट नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा कार्यरत दुर्गा पौडेल भट्टराईका अनुसार यसरी आमाको नामबाट नागरिकता लिनेमा सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनका मेरमान राई र देउकुमार राई रहनु भएको छ् । उहाँहरुको नागरिकता आमा भोटेनी राईका नामबाट जारी भएको प्रशासन कार्यालयले जनाएको छ । याम्फुदिनका पूर्व वडाध्यक्ष टसी लामाले बाबु पत्ता नभएका एकाघरका दाजुभाईले लामो प्रयास पछि आमाको नामबाट नागरिकता लिएको र राष्ट्रिय परिचयपत्र समेत बनाउन पाएको भन्दै यो कार्यको सहजीकरण गर्ने वर्तमान वडाध्यक्ष कृष्णकुमार गुरुङ समेतलाई धन्यवाद दिनु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चालु आवमा आमाको नामबाट नागरिकता जारी भएको यो पहिलो हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुन थालेको हो । सो भन्दा अघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिइँदै आएको थियो । नागरिकता ऐनको दफा २ को उपदफा ५(क) मा ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भएता पनि बाबुको नाम खुलाउन नसकेको भनी निज र निजका आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजलाई उपदफा ५ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गरिनेछ’भन्ने व्यवस्था रहेको छ ।