ताप्लेजुङका १३ जना उम्मेदवारको चुनाव खर्च एक करोड नौ लाख १९ हजार रुपैयाँ
-प्रयास लिम्बू
ताप्लेजुङ, चैत २४ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार भएका सबै जनाले चुनावी खर्च विवरण बुझाएका छन् । विभिन्न दलका तर्फबाट उम्मेदवार भई निर्वाचनमा प्रतिस्पर्धा गरेका १३ जनाले जिल्ला निर्वाचन कार्यालयसमक्ष खर्च विवरण बुझाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार १३ राजनीतिक दलका १३ जना उम्मेदवारले बुझाएको चुनाव खर्च कुल एक करोड नौ लाख १९ हजार १७३ रुपियाँ रहेको छ । निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र चुनावमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने र निर्वाचन आयोगमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
कानुनी व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिने अवधि सकिने अन्तिम दिन आइतबार सम्ममा यहाँबाट उम्मेदवार भएका सबैजनाले खर्च विवरण सार्वजनिक गरेका हुन् । जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङबाट नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भई निर्वाचित हुनुभएका क्षितिज थेबेको चुनाव खर्च २२ लाख ४२ हजार ५२५ रुपियाँ रहेको छ ।
निर्वाचित थेबेले जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुभएको चुनाव खर्च विवरण भन्दा उहाँका निकटतम् प्रतिस्पर्धी रहनुभएका नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तु्म्याहाङको खर्च बढी रहेको छ । काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका तुम्याहाङले २४ लाख ९३ हजार रुपियाँ चुनावमा खर्च भएको विवरण पेश गर्नुभएको हो । चुनावमा प्रतिस्पर्धा गरेका १३ जना उम्मेदवारमध्ये तुम्याहाङको चुनाव खर्च सबैभन्दा बढी हो ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएका खेलप्रसाद बुडाक्षेत्री (पराग) ले २३ लाख ४९ हजार ९२८ रुपियाँ चुनाव खर्च पेश गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएको वीरेन्द्र श्रेष्ठले ११ लाख ७६ हजार ५७५ रुपियाँ चुनाव खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयलमा पेश गर्नुभएको छ ।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार हुनुभएको सन्तोष राईले तीन लाख १९ हजार ५४५ रुपियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापाले नौ लाख ८५ हजार रुपियाँ चुनाव खर्च विवरण पेश गर्नुभएको छ । उज्यालो नेपाल पार्टीका उम्मेदवार कीर्तिमान मादेनले चार लाख १६ हजार रुपियाँ, नेकपा (माओवादी) का नरपति पौडेलको चुनाव खर्च तीन लाख ५० हजार ५०० रुपियाँ रहेको छ ।
यस्तै नेपाल जनमुक्ति पार्टीका उम्मेदवार बन्नुभएका इन्द्रकुमार लिम्बूले एक लाख ६८ हजार रुपियाँ, जनता समाजवारी पार्टी नेपालका सूर्य गुरुङले एक लाख ५० हजार रुपियाँ चुनाव खर्च पेश गर्नुभएको छ । जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुनुभएका अरुन सुब्बा लेछर्बोले ६७ हजार रुपियाँ र सबैभन्दा कम मंगोल नेसनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बूले ६५ हजार १०० रुपियाँ चुनाव खर्च पेश गर्नुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अप्रेटर बान्दवराज दुलाल (विपिन) का अनुसार निर्वाचन सम्पन्न भएको पाँच दिनपछि रास्वपाका तर्फबाट उम्मेदवार बन्नुभएका श्रेष्ठ र काँग्रेसका तुम्याहाङले खर्च विवरण बुझाउनुभएको थियो । त्यसपछि अन्य दलका उम्मेदवारले चुनाव खर्च विवरण बुझाएका हुन् ।
राप्रपाका तर्फबाट उम्मेदवार बन्नुभएका थापाले अन्तिम दिन आइतबार मात्र खर्च विवरण बुझाउनुभएको जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँबाट निर्वाचनमा उम्मेदवार भएका सबैजनाले जिल्ला निर्वाचन कार्यालयसमक्ष चुनाव खर्च विवरण पेश गरेका छन् । ताप्लेजुङमा निर्वाचन सम्पन्न भएको दुई दिनपछि फागुन २३ गते बेलुका अन्तिम परिणाम आएको थियो ।