ओली र लेखकलाई रिहाई गर्न एमाले ताप्लेजुङको माग
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १४ । नेकपा एमालेको ताप्लेजुङ जिल्ला कमिटीले पक्राउ परेका पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको तत्काल रिहाईको माग गर्दै उक्त कार्यलाई प्रतिशोधपूर्ण भन्दै भत्र्सना गरेको छ ।
एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले शनिवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै सरकारले ओली र लेखक प्रतिशोधपूर्ण तवरले पक्राउ गरी मुलुकलाई द्धन्द र मुठभेडतर्फ लैजान खोजेको आरोप लगाउनु भएको छ । एमाले ताप्लेजुङले फागुन २१ को निर्वाचनबाट निर्वाचित राश्वपालाई अराजक राजनीतिक दलको संज्ञा दिदै कार्की आयोगको प्रतिबेदनलाई तथाकथित भनेको छ ।
ओली र लेखकको पक्राउलाई एमाले ताप्लेजुङले सिङ्गो कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार भनेको छ । विज्ञप्तिमा प्रतिशोधात्मक दमन,धरपकड बन्द गर्न माग गर्दै ओली र लेखकको तत्काल रिहाईको माग गरिएको छ । विज्ञप्तिमा एमालेले यस्तो दमन र धरपकडका कारण कुनै विचलित नभई सशक्त प्रतिवाद,संघर्ष र आन्दोलनमा उत्रन आवह्वान गरिएको छ ।