| |

सुनिता केदेम (लाबुङ) को ‘याक्थुङ हुक्वा’ सार्वजनिक

-प्रयास लिम्बू
ताप्लेजुङ, चैत १३ । विश्वव्यापी अन्तर्राष्ट्रिय अनलाइन पालाम प्रतियोगिताकी विजेता सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ सार्वजनिक गरिएको छ । गायिका सुनिताको पालामको म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको हो ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बिहीबार आयोजित कार्यक्रमकाबिच कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङले म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो । पालाम ‘याक्थुङ हुक्वा’ मा लिम्बू संस्कृतिको उजागर गरिएको छ । लिम्बू भाषा तथा संस्कृतिमा आधारित गीत पालाम गाउने, पालाम गाउँँदै धान नाच्ने, तङ्नाम (चाडपर्व) मनाउने शैलीजस्ता दृश्यहरु म्युजिक भिडियोमा समावेश गरिएको छ ।
जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा निवासी गायिका सुनिताको आफ्नै लय र स्वर रहेको ‘याक्थुङ हुक्वा’ पालामको शब्द तथा कथा लेखन केवी किरातीको रहेको छ । यस्तै पालाम गाउनमा सुनितालाई गायक असारसिंह निङ्लेकुले साथ दिनुभएको छ । म्युजिक भिडियोको सम्पादन र छायांकन भिडियो तथा फोटोग्राफर देउमानप्रताप पालुङ्वाले गर्नुभएको हो ।
जिल्लाको पर्यटकीय स्थल मिक्वाखोलास्थित साँवामा रहेको फङ्फुङगे झरना, तेम्बा होमस्टे, मेरिङ्देनको गुराँसे पोखरी, हेलुम्बा, सदरमुकाम फुङ्लिङको किराँतेश्वर मन्दिर लगायतका क्षेत्रमा म्युजिक भिडियो छायांकन गरिएको हो । म्युजिक भिडियोमा गायिका तथा निर्माता सुनितासहित २२ जना कलाकारको अभिनय रहेको छ ।
करिव ३६ मिनेट लामो म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ निर्माण गर्न दुई लाख ५० हजार रुपियाँ जति खर्च भएको निर्माण पक्षले जनाएको छ । लिम्बू भाषामा पालामको अर्थ दोहोरी गीत र याक्थुङ हुक्वाको अर्थ लिम्बूको कोसेली भन्ने हुन्छ ।
भिडियो सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, फुङ्लिङ नगपालिकाकी उपप्रमुख भीमादेवी ओझा, सहायक प्रमु्ख जिल्ला अधिकारी यादव भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा याक्थुङ हुक्वाका कलाकारहरुलाई प्रशंसापत्रद्वारा सम्मानसमेत गरिएको थियो ।

Similar Posts