विश्व शान्ति र समस्त प्राणीको हितार्थ गर्न लागिएको सातौं बज्र गुरु मन्त्र जप कार्यक्रमको सबै तयारी पूरा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ८ । चैत १२ गते देखि ताप्लेजुङको फुङलिङमा हुने सातौं बज्र गुरु मन्त्र जप कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सातौं बज्रगुरु मन्त्र जप कार्यक्रम आयोजक समितिले आइतवार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
आयोजक समितिका अध्यक्ष थुप्तेन जिग्डोलले १२ गते बिहान ८ बजे देखि कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । मन्त्र जप कार्यक्रमका तीनैदिन उपस्थित हुने क्याब्जे कुन्देलिङ ताम्छाक रिम्पोछेबाट अमितायुको आयु अभिषेक,गुरु पद्मसम्भव,आर्य अवलोकितेश्वर,मञ्जुश्री,आर्य ताराको मन्त्र र गुणधार विहरतिस्मको आगम प्रदान गर्ने कार्यक्रम रहेको जिग्डोलले बताउनुभयो । क्याब्जे कुन्देलिङ ताम्छाक रिम्पोछे मन्त्र जप कार्यक्रमका प्रमुख वक्ता समेत रहनु हुने छ् । उहाँ चैत ११ गते नै ताप्लेजुङ आईपुगेर १२ गते बिहानबाट कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ । विश्व शान्ति तथा समस्त प्राणीको हितार्थ आयोजित सातौं बज्रगुरु मन्त्र जप कार्यक्रममा सहभागी भई पुण्य प्राप्ति कार्यमा सहभागी भइदिन आयोजक संस्थाले अपिल समेत गरेको छ ।
जिग्डोलका अनुसार बज्र गुरु मन्त्र जपको छोटो रुप सम्पूर्ण बुद्धहरुको कार्य मन्त्र,वचन मन्त्र,चित्त मन्त्र,बुद्ध बज्रसत्वको मन्त्र,अमिताभ बुद्धको मन्त्र,बुद्ध अमोध सिद्धिको मन्त्र र बुद्ध बैरोचनाको मन्त्र भन्ने हुन्छ । यो मन्त्र गुरु पद्मसम्भवको सार मन्त्र भएकोले विधिपूर्वक एकलाख पटक जप गर्नाले शरिर,मन र बचनद्धारा गरेका अकुशल कार्यहरुको सोधन हुने विश्वास रहेको छ । दुई लाख पटक जप्नाले विकालमा गरेका अकुशल कार्यहरुको शुद्धि हुने तथा तीन लाख पटक जप्नाले अवैवर्तिक भूमिमा पुग्न सकिने विश्वास रहेको छ । सात लाख पटक जप्नाले यसै जन्ममा पद्मसम्भव सुखवति प्राप्त गर्न सकिने विश्वास रहेको छ । दश लाख पटक जप्नाले चार सुर्कमहरु पूर्ण हुने विश्वास रहेको छ । साठी लाख पटक जप्नाले संसारिक दुःखबाट उन्मुक्ति पाउने र एक करोड पटक जप्नाले अमिताभ बुद्ध समान हुन सकिने विश्वास रही आएको छ ।
जिग्डोलका अनुसार बज्र गुरु मन्त्र जप गर्दा समस्त बुद्ध अथवा पञ्च बुद्धको आर्शिवाद प्राप्त गर्न सकिन्छ । विश्व शान्तिका लागि यस्ता गुण र पुण्यले युक्त हुने भएकोले बज्र गुरु मन्त्र जप कार्यक्रममा सहभागिताका लागि आयोजक समितिले सबैलाई आग्रह गरेको छ । बज्र गुरु मन्त्रलाई प्रार्थनाको रुपमा जप गरेमा विश्वमा भइरहेको अशान्ति,झै–झगडा,प्राकृतिक प्रकोप,रोग व्याधी आदि कम हुने जनविश्वास रही आएको छ । मन्त्र जपले दोष तथा पाप नष्ट हुने तथा शान्ति तथा पुण्य प्राप्ति हुने आयोजक समितिको विश्वास रहेको छ । ताप्लेजुङमा विगत ७ बर्ष देखि लगातार बज्र गुरु मन्त्र जप कार्यक्रम भइरहेको छ । मन्त्र जप कार्यक्रममा सबै धर्म,संस्कार र संस्कृतिमा आवद्ध व्यक्ति सहभागी हुन सक्ने आयोजकले बताएको छ ।