ताप्लेजुङमा ५१.४५ प्रतिशत मत खस्यो,मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २१ । हिमाली जिल्ला ताप्लेजुङमा ५१.४५ प्रतिशत मत खसेको छ । शान्त रुपले निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ९० हजार ३ सय २७ मतमध्ये ४६ हजार ४ सय ७४ मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार २५ हजार ३ सय ९९ पुरुष र २१ हजार ७५ महिला मतदाताले मतदान गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालका अनुसार २०७९ सालको निर्वाचनमा यहाँबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४८ हजार ५ सय ९३ मत खसेको थियो । ८८ हजार २ सय ८५ मतदाता रहेको उ बेला भन्दा अहिले मतदान भएको प्रतिशत कम भएको छ । यसैबीच मतदान सम्पन्न भएका र मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक रहेका मतदान स्थल तथा केन्द्रमा मतपेटिका धमाधम मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गर्न थालिएको छ । हेलिकोप्टरबाट ल्याउनुपर्ने ओलाङचुङगोला,घुन्सा,याङमा र ग्याब्ला मतदान केन्द्रको मतपेटिका भने शुक्रवार बिहान मात्र ल्याइने भएको छ ।

हेलिकोप्टर फुङलिङ आइसकेको र बिहान मौसम खुल्ला भएपछि हिमाली क्षेत्रमा मतपेटिका ल्याइने प्रजिअ सेढाइँले बताउनुभयो । अन्य मतदान केन्द्रमा मतपेटिका भने शुक्रवार बिहान ३ः०० बजेसम्ममा फुङलिङ ल्याई पु¥याइने कार्ययोजना रहेको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले बताउनुभयो । मतपेटिका भेला भएपछि सर्वदलिय बैठक बस्ने र मतगणना सुरु गर्ने तयारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली सहितका दुईवटा मतगणना स्थल तयार भएको छ । मतगणना सुरु भएको १८ घण्टा भित्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरी समानुपातिकतर्फको मतगणना कार्य सुरु गर्ने मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

 

Similar Posts