सिसी क्यामेराको निगारानी सहित तारजालीको घेराबारा गर्दै ताप्लेजुङमा मतगणना स्थल तयार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २० । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाका लागि तारजाली र सिसी क्यामेरा समेत जडान भएको मतगणना स्थल तयार भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा दुई वटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेराबारा भएको मतगणनास्थल तयार भएको छ । मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार दुईवटा स्थलमा मतगणना गर्नेगरी प्रत्येक स्थलमा दुईवटा सिसी क्यामेरा जडान गरिएको छ । मतपेटिका भण्डारका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा कक्ष तयार गरिएका छन् । प्रत्येक कक्षमा सिसी क्यामेरा जडान भएको छ । प्रत्यक्षको मतपेटिका भण्डारणका लागि एक र समानुपातिकतर्फको मतपेटिका भण्डारणका लागि एक कक्ष तयार भएका छन् । मतगणना स्थल देखि मतपेटिका भण्डार कक्ष समेतको सिसी क्यामेराको निगरानी मुख्य निर्वाचन अधिकृतको कार्यक्षबाट गर्ने तयारी छ ।
मतपेटिका भण्डारण भएका कक्षको सिसी क्यामेराबाट गरिने निगारानीका लागि चौबिसै घण्टा दक्ष प्राविधिक र सुरक्षाकर्मीले पहरा दिनेछन् । मतगणना स्थलमा दल तथा उम्मेदवारका प्रतिनिधि बस्नका लागि प्रवन्ध गरिएको छ । सुरुमा प्रत्यक्षतर्फको मतगणना सकेर समानुपातिकतर्फको मतगणना सुरु गर्नेगरी कार्यतालिका तयार भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । मतगणना स्थलमा कुनै समय पनि विद्युतको अभाव नहुने प्रवन्ध गरिएको छ । श्रेष्ठका अनुसार विद्युत आपूर्ति बन्द भएपनि कम्तिमा तीनघण्टा थाम्नेगरीको चिम लाइटको प्रवन्ध गरिएको छ । दोस्रो विकल्पको रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रहेको इन्भटर र तेस्रो विकल्पको रुपमा जेनेरेटर समेत तयारी हालतमा राखिएको श्रेष्ठले जानकारी दिनुभयो । मतगणनाको निश्चित संख्या पूरा भएपछि मतगणनाको जानकारी नियमित रुपले गराइने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा माइकको प्रवन्ध गरिएको छ । माइकमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयले निश्चित अवधि पछि मतगणनाको नतिजा नियमित रुपले सार्वजनिक गर्ने प्रवन्ध गरिएको समेत श्रेष्ठले बताउनुभयो ।
उत्तरी हिमाली क्षेत्रका ओलाङचुङगोला,याङ्मा,घुन्सा र ग्याब्ला मतदान केन्द्रमा मतपेटिका मतदान सम्पन्न लगत्तै हेलिकोप्टरबाट ल्याउने कार्ययोजना छ । फागुन २२ गते बिहान ३ः०० बजेभित्रमा जिल्ला भरका सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई सकेर बिहान सर्वदलिय सर्बपक्षिय बैठक बसेर खाना पछि फागुन २२ गते दिउँसोबाट मतगणना सुरु गर्ने कार्ययोजना तयार भएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । मतगणना सुरु भएको १८ घण्टा भित्रका प्रत्यक्षतर्फको मतगणना सक्नेगरी तयारी गरिएको श्रेष्ठले बताउनुभयो । ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता रहेका छन् । ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार सबै मतदान स्थल तथा केन्द्रमा मतदान कार्यका लागि आवश्यक सबै तयारी पूरा भएको छ ।