निर्वाचन आचारसंहिता बारे ताप्लेजुङका सञ्चारकर्मीको अन्तरक्रिया : प्रतिबद्ध हुने र बनाउन भूमिका खेल्ने निश्कर्ष
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १३ । ताप्लेजुङका सञ्चारकर्मीले निर्वाचन आचार संहिताको पालनामा आफुपनि प्रतिबद्ध हुने र निर्वाचनका सरोकार राख्ने पक्षलाई पनि प्रतिबद्ध बनाउन भूमिका खेल्ने निश्कर्ष निकालेका छन् ।
कोशी सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको समन्वयमा पत्रकार महासंघ ताप्लेजुङले बुधवार फुङलिङमा आयोजित कार्यक्रममा सञ्चारकर्मीले यस्तो प्रतिबद्धता जनाएका हुन् । निर्वाचन आचार संहिता,आचार संहिताका सन्दर्भ र आचार संहिता पालनाका आधारसहितका बिषयमा पत्रकार महासंघ ताप्लेजुङका सहसचिवद्धय साहारा लङ्वा र मनु मावो लिम्बूले प्रस्तुती राख्नु भएको थियो । आचार संहिता स्वनियमको बिषय भएको बताउँदै निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालनामा कसको के भूमिका हुनसक्छ भन्ने बारे लङ्वा र मावोले प्रष्ट्याउनु भएको थियो । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा भएको निर्वाचन आचार संहिता सम्वन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुनुभएका उहाँहरुले बुधवार यहाँका सञ्चारकर्मीलाई तालिमबाट प्राप्त सीप पस्किनु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले सञ्चारकर्मीहरुका अघि आफुले पालना गर्नुपर्ने आचार संहिताको पालनामा पूर्ण प्रतिबद्ध र निर्वाचनमा सरोकार राख्ने पक्षलाई आचार संहिता पालनामा खबरदारी गर्ने दोहोरो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सञ्चार माध्यम र सञ्चारकर्मीले त्यहाँको आवश्यकता र माग बारे उजागर गर्नु राम्रो हुने धारणा राख्नुभयो । पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष आनन्द गौतमले पत्रकारिता क्षेत्रमा विगत र अहिले जति फरक छ,प्रविधिको सहि प्रयोग र व्यवस्थापनका हिसावले उत्तिकै चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले आचार संहिता आफैंले आफैंलाई स्वनियममा राख्ने विधि भएको बताउँदै आचार संहिता लाग्ने पक्ष यो बेला सचेत,सम्बेदनशिल र आचार संहिताको पालनामा प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमको समापनको क्रममा बोल्दै पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले आचार संहिता पालनामा सञ्चारकर्मी प्रतिबद्ध रहेको र आचार संहिता अवधिभरी यसको उचित कार्यान्वयनमा लाग्ने विश्वास दिलाउनुभयो । उहाँले निर्वाचन अवधिको अघि,निर्वाचनको दिन,मतगणनाको समय र निर्वाचन परिणाम सार्वजनिक भइसकिञ्जेलसम्म सम्वन्धित सबै पक्षले आचार संहिताको पालनामा प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।