ताप्लेजुङका मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम फागुन १४ र १५ मा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ११ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि फागुन १४ र १५ गते दुई चरणमा अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार १४ गते फक्ताङलुङ गाउँपालिका,सिदिङ्वा गाउँपालिका,मिक्वाखोला गाउँपालिका तथा मेरिङेन गाउँपालिका र मैवाखोला गाउँपालिका वडा नं ५ र ६ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिईने छ । यस्तै फागुन १५ गते फुङलिङ नगरपालिका,आठराई त्रिबेणी गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिकाका सबै वडा तथा मेरिङदेन गाउँपालिका तथा मैवाखोला गाउँपालिकाका वडा नं १,२,३ र ४ नम्बर वडामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिईने छ ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्येक केन्द्रमा मतदान अधिकृत एक,सहायक मतदान अधिकृत एक र सहायक कर्मचारी तीन तथा कार्यालय सहयोगी एक गरी कुल ६ जनाका दरले कर्मचारी खटाउने गरी मतदान केन्द्रमा खटिने कर्मचारी तोकीसकेको छ । ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन् । फागुन २१ गतेको निर्वाचनका लागि यहाँ ९० हजार ३ सय २७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको यहाँ १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन् ।

Similar Posts