मुलुकलाई द्धन्दबाट शान्तितर्फ लैजान तथा नवयुवाले उठाएका आवाजको सम्बोधनका लागि एमालेलाई बहुमत: भट्टराई

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ८ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले मुलुकलाई द्धन्दबाट शान्तितर्फ लैजान र नवयुवाले उठाएका सुशासनसहितका मुद्दाको उचित सम्बोधनका लागि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु अनिवार्य रहेको बताउनु भएको छ ।

नेकपा एमाले फक्ताङलुङ गाउँपालिका कमिटीले पालिकाको केन्द्र तापेथोकमा आयोजना गरेको चुनावी सभालाई शुक्रवार सम्बोधन गर्दै नेता भट्टराईले नेपाल देश रहेमा मात्र नेपाली हुने भएकोले देश जोगाउने अभियानका साथ एमाले चुनावी मैदानमा उत्रिएको बताउनुभयो । नवयुवाको युवाको आकाँक्षा अनुसार नै एमालेले यसपटक युवा र प्रौढहरुलाई चुनावी मैदानमा उतारेको उहाँको भनाई थियो । उहाँले एमालेले ताप्लेजुङबाट सबैभन्दा कान्छो उम्मेदवारको रुपमा सर्वसहमतिमै क्षितिज थेबेलाई अघि सारेको बताउँदै थेबे सहित सूर्यध्वजाबाहक उम्मेदवारलाई बिजयी गराइदिन मतदाताहरुसंग अपिल समेत गर्नुभयो । एमालेले बिहीबारमात्रै घोषणापत्रमार्फत मुलुक कसरी बनाउने भन्ने संकल्प अघि सारेको भन्दै पार्टीले अघि सारेका घोषणा र संकल्पले समृद्ध र सुशासनयुक्त मुलुक बन्ने ठोकुवा गर्नुभयो ।

ताप्लेजुङ जिल्ला जाति,भाषा,संस्कार,संस्कृति र सभ्यताले विविधतायुक्त रहेको र एमाले जातिय सद्भावको पक्षमा रहेको बताउँदै भट्टराईले नेपालीहरुले मिलेर स्वाभीमान उचो बनाउन र सबै किसिमका अतिवादको अन्त्य गर्न एमालेले जित्नुको विकल्प नरहेको बताउनुभयो । भौगोलिक हिसावले विकट र कठिन अवस्थामा रहेको ताप्लेजुङको विकास र समृद्धिका लागि आफुले केहि समय यहाँको जनप्रतिनिधि बनेर काम गर्ने मौका पाएको र केहि कार्य गरेको बताउँदै भट्टराईले बाँकी रहेका अधुरा कार्यलाई क्रमशःपूरा गर्न एमाले उम्मेदवार थेबे सक्षम रहेको बताउनुभयो । भदौ २४ को विध्वंस पछि अहिले मुलुकको सार्वभौमसत्ता माथि प्रश्न उठीरहेको बताउँदै भट्टराईले मुलुकको स्वाभीमान जोगाउन,लोकतन्त्रको संरक्षण गर्न र मुलुकलाई द्धन्दबाट शान्तितर्फ लैजान एमाले उम्मेदवारहरुले जित्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तिलकुमार मेन्याङवो सहितका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

 

Similar Posts