कार्य सम्पादनको प्रारम्भिक नतिजामा सिरिजङ्गा पहिलो

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २९ । स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी प्रदान गरेको अंकको नतिजामा ताप्लेजुङ भरीमा सिरिजङ्गा गाउँपालिका अग्रस्थानमा देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सिरिजङ्गाको अंक ६८.१२ रहेको छ । दोस्रोमा रहेको पाथीभरा याङवरकको अंक ६५.७२ देखिएको छ । मैवाखोलाको ५८.६८ अंक हुँदा मिक्वाखोलाको ५८.५८ अंक रहेको छ । सिदिङ्वाको ५७.८९ अंक,मेरिङदेनको ५७.०१ अंक,फक्ताङलुङको ५६.७५ अंक रहेको छ । फुङलिङको ५०.६५ हुँदा आठराई त्रिबेणीको ४१.३१ अंक रहेको छ । आयोगले प्रकाशित गरेको प्रारम्भिक नतिजामा चित्त नबुझेमा ७ दिन भित्र पुनरावलोकनका लागि निबेदन दिन सकिने प्रावधान रहेको छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ । जसअनुसार बजेट पेश र पारितको समयावधि,आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि,विनियोजित रकम खर्चको समयावधि र अवस्था, सुत्रको प्रयोग, आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ । शिक्षातर्फ विद्यार्थी भर्नादर, टिकाउको अवस्था, प्राप्त जीपीए, स्वास्थ्यमा गर्भवती महिला तथा बालबालिकालाई खोपको अवस्था लगायतका मापदण्डलाई बिश्लेषण गर्ने गरिएको छ ।

Similar Posts