ताप्लेजुङका प्रत्येक वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने,छानिए ६१ स्वयंसेवक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २८ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यहाँका प्रत्येक वडामा मतदाता शिक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि कार्यालयले ६१ जना मतदाता शिक्षा स्वयंसेवक छनौट गरी उनीहरुलाई तालिम दिन थालिएको छ ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी विपिन दुलालका अनुसार विभिन्न बिद्यालयका बाल शिक्षक सहजकर्ता र स्थानीय स्वास्थ्य स्वयंसेविकालाइ मतदाता शिक्षा स्वयंसेवकको रुपमा खटाइने छ । कम्तीमा एसईई वा सो सरह उत्तीर्ण गरेका बालविकास सहजकर्ता,मातृस्वास्थ्य कार्यकर्ता,स्थानीय स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक अध्ययन परिचालकमध्येबाट निर्वाचन कार्यालयले स्वयंसेवक छनौट गर्न सक्ने व्यवस्था रहेको छ । तालिम पश्चात मतदाता शिक्षा स्वयंसेवक कार्यस्थलमा खटिने भएका छन् । निर्वाचन आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका वडा–वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्नेगरि यसअघि नै निर्णय लिईसकेको छ । मतदाता शिक्षा स्वयंसेवकले आम मतदातालाई सही,तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकासका लागि जिम्मेवारी निर्वाह गर्नेछन् । जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठले मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको उद्देश्य रहेको जानकारी दिनुभयो ।

मतदातालाई मतदान प्रक्रिया, मतपत्रको प्रयोग,गोप्य मतदानको महत्व,निर्वाचन आचारसंहिता तथा गलत एवम् भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिने जिम्मेवारी समेत मतदाता स्वयंसेवकमा रहने छ । मतदाता शिक्षा स्वयंसेवक परिचालनका लागि अनुगमनकर्ता पनि तोकिनेछन् । आयोगले निर्वाचन तथा मतदाता शिक्षाका लागि स्थानीय तहमा तोकेका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिने छ । बदर मत घटाउने देखि सहि तरिकाले मतदान गर्ने,मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने तरिकाबारे समेत मतदाता स्वयंसेवकले मतदातालाई जानकारी गराउने छन् । सम्वन्धित मतदान अधिकृतको दस्तखत नभएको,औंठा छाप लगाई वा आयोगले निर्धारण गरेको स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत संकेत गरिएको,मत संकेत चिन्ह नबुझिने गरी लत्पतिएको वा च्यातिएको मतपत्र बदर हुने छ ।

उम्मेदवार वा दलको निर्वाचन चिन्ह भएको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,एक भन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिन्ह भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको,एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिन्ह भएको कोठामा मत संकेत चिन्ह पर्नेगरी मत संकेत गरिएको,मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिईएको,कुनैपनि उम्मेदवार वा दलको निर्वाचन चिन्हमा मत संकेत नगरिएको,आयोगद्धारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्धारा मतदान गरिएको मतपत्र,मत पेटिका भन्दा बाहिर राखिएको मतपत्र,जाली मतपत्र,पट्याएको मतपत्र भित्र रुपैयाँ,कागज वा अन्य कुनै बस्तु संलग्न गरेको वा कुनै रुपमा च्यातेको वा प्वाल पारेको मतपत्र बदर हुने छ । एउटा पट्याएको मतपत्र भित्र अरु मतपत्र संगै एकसाथ पट्याएको मतपत्र समेत बदर हुने छ ।

Similar Posts