अपर मेवा जलविद्युत आयोजनाको सुरुङ खन्न थालियो,बर्षदिनमा ४ किलोमिटर सुरुङ मार्ग पूरा गर्ने लक्ष्य
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १७ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणाधिन अपर मेवा जलविद्युत परियोजनाको सुरुङ मार्ग खन्ने काम सुरु गरिएको छ ।
प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,मिक्वाखोला वडा नं ४ र ५ का जनप्रतिनिधि सहितको उपस्थितिमा सुरुङ निर्माण कार्य सुरु भएको हो । ३१.९२ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टीलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण गर्न सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार करिव ४ किलोमिटर लामो सुरुङ मार्ग हुने छ भने अधिकाँस संरचना भूमिगत(अण्डर ग्राउण्ड)हुनेछन् ।
सुरुङ मार्ग एकबर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । आयोजनाको प्रवद्र्धक सौर्य होल्डिङ कम्पनी प्रालि रहेको छ । मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवा र वडा नं ५ पापुङ आयोजनाको मुख्य प्रभाव क्षेत्रमा पर्नेछन् । आयोजनाको कुल लागत करिव ६ अर्ब ३७ करोड रुपैयाँ रहने आयोजनाका जनसम्पर्क अधिकृत गौतमले जानकारी दिनुभयो । आयोजनाका लागि ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको वित्तीय साझेदारी संस्थाले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत लगानी गर्नेछन् भने र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्ने छ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।