सुपर काबेली ‘ए’जलविद्युत आयोजनाले झण्डै साढे ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्दै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १७ । सुपर काबेली ‘ए’जलविद्युत आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार आयोजनाका अति प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० र आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको तयारी गरिएको छ । स्नो रिर्भस लिमिटेडद्धारा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनमा निर्माण गरिएको जलविद्युत आयोजनाले आयोजनाको अति प्रभावित क्षेत्र भन्नाले आयोजना निर्माणस्थल याम्फुदिनलाई मानेको छ । आयोजनाको प्रभावित क्षेत्र भन्नाले सिरिजङ्गा गाउँपालिकाको वडा नं १ सिनाम,वडा नं २ आम्बेगुदिन,वडा नं ३ सिकैचा,वडा नं ४ तेल्लोक,वडा नं ५ पेदाङ,वडा नं ६ मामाङ्खे र वडा नं ७ खेवाङ सहित सिदिङ्वा गाउँपालिकाको वडा नं ५ लिम्बू र वडा नं ६ मेहेले,पाथीभरा याङवरक गाउँपालिकाको वडा नं ५ चाक्सिबोटे र वडा नं ६ थुम्बेदिन र पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं १ लाई मानिएको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत ढुङ्गानाका अनुसार साधारण शेयर निष्काशनका लागि अनुमति प्राप्त भई अबको केहि अवधिमै शेयर निष्काशनको सार्वजनिक आवह्वान गर्ने तयारी छ । आयोजनाले नागरिकताको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र,बैंक खाता, र डिम्याट खाता तयारी अवस्थामा राख्न आयोजनाका अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीयलाई आग्रह गरेको छ । उक्त साधारण शेयरका लागि पु¥याउनुपर्ने कागजात तथा प्रकृयाको सहजीकरण गरी सहयोग गरिदिन आयोजनाले स्थानीय सरकार,राजनीतिक दलका प्रतिनिधि,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्,कञ्चनजंघा उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई आग्रह समेत गरेको छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली‘ए’जलविद्युत आयोजनाबाट यसअघि नै औपचारिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ ।

सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभिए क्षमताको अमरपुर सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । याम्फुदिनस्थित विद्युत गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सवस्टेसनसम्मको विद्युत प्रसारण प्रणालीमार्फत सुपर काबेली‘ए’जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको हो । २०७९ साल मंसिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण २ अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । यो आयोजना काम सुरु भएको छोटै अवधिमा पूरा भएको आयोजनाको रुपमा चिनिएको छ । बाढी र पहिरोले समस्या पारेपनि छोटो अवधिमै काम सम्पन्न गरेर आयोजनाले उपभोक्तामाझ ख्याति कमाएको छ ।

Similar Posts