चामलसहित तेल र चिनी समेत बिक्री गर्ने ताप्लेजुङ खाद्यको तयारी,थालियो प्रकृया
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले कार्यालयबाट चामल बाहेक चिनी र तेल समेत बिक्री गर्ने प्रकृया आरम्भ भएको जनाएको छ ।
शाखाका कार्यालय प्रमुख प्रकाश तिम्सिनाले कार्यालयबाट अहिलेसम्म चामलमात्र बिक्री हुँदै आएको र सुफत मूल्यमा चिनी र तेल समेत बिक्री गर्नेगरी प्रकृया आरम्भ भएको जानकारी दिनुभयो ।‘हामीले कार्यालयबाट चामल बाहेक अन्य दैनिक उपभोग्य तथा खाद्यान्न बस्तुको बिक्री गर्ने बारे प्रकृया अघि बढाएका छौं’शाखा कार्यालयका प्रमुख तिम्सिनाले भन्नुभयो । उक्त बिषय प्रकृयामै रहेकोले यकिन रुपमा कहिलेबाट चामल बाहेक अन्य खाद्यान्न सामग्रीको बिक्री सुरु हुन्छ भन्ने बिषय मितिकै रुपमा भने निर्धारण नभएको तिम्सिनाले जानकारी दिनुभयो। चामल बिक्री वापतको भुक्तानी अनलाइनबाटै गर्न मिल्ने प्रवन्ध गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
तिम्सिनाले खाद्यान्न खरिदका लागि खरिद मूल्य बाहेक अन्य केहि डकुमेन्ट आवश्यक नपर्ने बताउँदै खाद्यान्नबाट खरिद गरिएको चामल अन्यत्र लगेर बिक्री गर्न भने नपाइने जानकारी दिनुभयो । व्यक्तिले आफ्नो उपभोगका लागि जति पनि चालम खरिद गर्न सक्ने तिम्सिनाको भनाई रहेको छ । उपभोक्ताले लगेको चामलको गुणस्तरमा समस्या पाईए खरिदकर्ताले प्रश्न गर्न पाउने व्यवस्था कार्यालयले गरेको बताउँदै तिम्सिनाले हल्लाको पछि नलाग्न समेत आग्रह गर्नु भएको छ ।
संघीयताको मर्म बमोजिम संस्थाको संरचना सुधार गरी नयाँ डिलर र डिपोका लागि ताप्लेजुङका सबै स्थानीय तहसंग समन्वय र सम्बाद भइरहेको बताउँदै तिम्सिनाले स्थानीय तहबाट सहकार्य गर्ने बचन आए गाउँ–गाउँबाट प्रभावकारी सेवा दिने समेत जानकारी दिनुभयो । कार्यालय बिदाको समेत सम्पर्क गरेर आउने सेवाग्राहीलाई चामल दिन सकिने व्यवस्था गरेको कार्यालयले जनाएको छ । सरकारको पूर्ण स्वामित्व भएको सरकारी कार्यालय भएको र स्थानीयले उत्पादन गरेको धान खरिद गरेर कुटानी पिसानी गरी सरकारले गर्ने ढुवानीका कारण खाद्यको चामल बजारको भन्दा केहि सस्तो पर्न जाने समेत तिम्सिनाले जानकारी दिनुभयो ।