ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० ले दिए आबेदन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ४ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा ९ सय ५० जना निर्वाचन प्रहरीको आबेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार जिल्ला प्रहरी कार्यालयमा ८ सय ९४ जनाको र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामा ५६ जनाको आबेदन परेको हो । ताप्लेजुङमा ८ सय ९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । पहिलोपटक माघ १ गतेसम्म आबेदन दिने म्याद भएकोमा आवश्यक माग संख्या भन्दा कम मात्र आबेदन परेपछि दुईदिन म्याद थप गरी आबेदन लिईएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार माघ ५ गते सोमबारबाट आबेदकहरुको प्रारम्भिक शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा सञ्चालन गरिने छ । त्यसका लागि आबेदकले नागरिकताको सक्कलै प्रमाणपत्र र प्रवेशपत्र लिएर उपस्थित हुनुपर्ने छ ।
सोमबार देखि बुधवारसम्ममा आबेदकको प्रारम्भिक शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा सञ्चालन गरिने समेत पोखरेलले जानकारी दिनु भएको छ । यस्तो परीक्षा भानुजन माविको खेलमैदानमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ताप्लेजुङमा ९० हजार ३ सय २७ जना मतदाता छन् । ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र रहेको छ ।