सचेतना जागरण सञ्चालन गर्दै ताप्लेजुङमा मनाईयो २८ औं भूकम्प सुरक्षा दिवस

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २ । भूकम्प जोखिमबाट बच्ने उपाय बारे सचेतना जागरण अभियान सञ्चालन गर्दै ताप्लेजुङमा शुक्रवार २८ औं भूकम्प सुरक्षा दिवस मनाईएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको संयोजक तथा फुङलिङ नगरपालिका सहितका निकायहरुको सहभागितामा तोक्मेडाँडाबाट जागरण ¥याली सहित वीरेन्द्रचौकमा पुगेर औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो । औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराज सेढाइँले भूकम्प प्रतिरोधी पूर्वाधार निर्माण जोखिमबाट बच्ने महत्वपूर्ण उपायको रुपमा रहने बताउनुभयो । सेढाइँले भूकम्प पूर्वनै मानिसले सचेत हुनुपर्ने बताउँदै भूकम्प आइहाले यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा समुदायतहसम्म सन्देश प्रवाह गर्न आवश्यक रहेकोमा दिनुभयो । भूकम्प पछिको पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यमा सरोकारवालाको सामुहिक सहकार्यले जोखिम व्यवस्थापन गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटीका सभापति इन्द्रबहादुर गुरुङ,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले भूकम्प सुरक्षाका बिभिन्न आयामका बारेमा आफ्नो धारणा राख्नु भएको थियो । २८ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्राविधिक विज्ञ सहितको सहभागितामा नेपाल पत्रकार महासंघ ताप्लेजुङले यहाँका तीनवटै रेडियो क्रमशःरेडियो तमोर,रेडियो ताप्लेजुङ र रेडियो काबेलीको सहकार्यमा भूकम्प जोखिम न्यूनीकरण कसरी सम्भव छ भन्ने बारेमा परिसम्बाद कार्यक्रम समेत आयोजना गरेको थियो ।

२८ औं भूकम्प सुरक्षा दिवस ‘सबै तहका सरकार,सबै नागरिकको तयारी,भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’भन्ने नाराका साथ देशभर मनाइदैं छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ । विक्रम् सम्वत् १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा विक्रम सम्वत् २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

 

Similar Posts