ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि आबेदन दिनेको संख्या दिनहुँ बढ्दै,करिव नौ सयको भर्ना लिइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २७ । ताप्लेजुङमा निर्वाचन प्रहरी(म्यादी प्रहरी)का लागि आबेदन दिनहरुको संख्या बढ्दै गएको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार आइतवार मात्र करिव डेढसय बढीको संख्यामा आबेदन दिनेहरु कार्यालय परिसरमा भेला भएका छन् । प्रहरी कार्यालय परिसरमा प्रवेश गरेका सबैको साँझ अबेरसम्म भएपनि आबेदन लिएरै छाड्नेगरी प्रहरी कार्यालयले तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवले तोकिएको योग्यता र मापदण्ड भित्र परेका सबै आबेदकलाई सहज ढंगले आबेदन दिन मिल्नेगरी प्रहरी कार्यालयले व्यवस्थापन गरेको जानकारी दिनुभयो । त्यसका लागि कार्यालयले पर्याप्त जनशक्ति व्यवस्थापन गरेको यादवले बताउनुभयो । निर्वाचन प्रहरीका लागि ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामार्फत आबेदन लिने व्यवस्था गरिएको छ । पुस २५ गतेबाट सुरु भएको आबेदन माघ १ गतेसम्म लिने तयारी रहेको छ । प्राप्त भएका आबेदनका आधारमा लिखित र मौखिक दुबै परीक्षामार्फत निर्वाचन प्रहरी छनौट गरिने छ ।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मले सार्वजनिक बिदाको दिन समेत आबेदन लिदैं आएको छ । पुस २६ गते शनिवार र पुस २७ गतेको सार्वजनिक बिदाका दिनमा समेत आबेदन लिएको आएको प्रहरीले जानकारी दिएको छ । ताप्लेजुङका लागि ८ सय ९२ जना निर्वाचन प्रहरीको भर्ना लिइने छ । त्यसमध्ये ४६ जना सशस्त्र प्रहरी मातहत रहनेछन् । यसपटक ईतिहाँसकै पहिलोपटक सशस्त्र प्रहरी मातहत रहनेगरी निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ७ सय ३६ जना निर्वाचन प्रहरी(म्यादी प्रहरी)को माग गरिएको थियो । १ हजार २ जनाले आबेदन दिएका थिए । २०७९ सालको निर्वाचन भन्दा यसपटक ताप्लेजुङमा ५ मतदानस्थल थप भएका छन् । सोहि आधारमा निर्वाचन प्रहरीको संख्या पनि थप भएको हो ।

Similar Posts