मैवाखोलाले पालिकामै प्राङ्गारिक मल उद्योग खोल्ने,सिलाम साक्माको स्थायी प्रतिमा निर्माणका लागि लाग्यो ठेक्का

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका भित्रै प्राङ्गारिक मल उद्योग स्थापना गर्न बोलपत्र आवह्वान गरी निर्माण कम्पनी छनौट गरेको छ ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार प्राङ्गारिक मल उद्योग स्थापनाको पनि निर्माण कम्पनी छनौट भएको छ भने सभ्यता र संस्कृति स्थापित गर्ने सिलाम साक्माको प्रतिमा निर्माणका लागि समेत निर्माण कम्पनीको छनौट गरिएको छ । पालिकाका अनुसार दुबै योजनाको जिम्मेवारी भागवत गीता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले काठमाडौंले पाएको छ । मैवाखोला गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं ३ स्थित नारायणी मावि साँघु नजिक बन्ने सिलाम साक्माको स्थायी प्रतिमा निर्माणका लागि भ्याट र पिएस सहित ५२ लाख १४ हजार २ सय ८२ रुपैयाँ १० पैसाको कवोल अंक स्वीकार गरिएको छ । यस्तै प्राङ्गारिक मल उद्योगका लागि ३४ लाख ९१ हजार ३ सय ५८ रुपैयाँ ९८ पैसाको कवोल अंक स्वीकार गरेको पालिकाले जनाएको छ । मैवाखोलाले यसअघि यि दुबै योजनाका लागि वोलपत्र माग गरेको थियो । प्राप्त हुन आएका बोलपत्रमध्ये न्यूनतम् कवोल अंक स्वीकार गर्ने निर्माण कम्पनीलाई पालिकाले जिम्मेवारी दिएको हो ।

मैवाखोलाले अग्र्यानिक खेति प्रणालीलाई महत्व दिएर रसायनिक बिषादीलाई बिस्थापन गर्ने योजना बनाएको छ । लिम्बू जातिको सघन बसोबास भएको क्षेत्रमा हुने सार्वजनिक समारोहमा अतिथिलाई अचेल ब्याजको सट्टा आकर्षक ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गर्ने प्रचलन बढ्दो छ । बाँसको दुई कप्टेरोमा विभिन्न रङका धागो हातले जडेर बनाइएको चारकुने सिलाम साक्माको छेउमा फुर्को राखिएको हुन्छ । सिलाम साक्मा मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण तङसिङ संस्कारमा प्रयोग हुने गर्छ । लिम्बू भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिन्छ । ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ । प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ ।

१५ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालनका बेला अघिल्लो बर्षको माघ २७ गते मैवाखोलाले बाँस र फलामको प्रयोग गरेर ५२ फिट अग्लो अस्थायी प्रकृतिको सिलाम साक्माको प्रतिमा बनाएको थियो । त्यसदिन करिव एक हजार बिद्यार्थीको सहभागितामा नारायणी मावि साँघुको खेल मैदानमा सिलाम साक्माको आकृति बनाई प्रर्दशन गरिएको थियो । मैवाखोलाले लिम्बू समुदायको सभ्यता र संस्कृतिलाई उजगार गर्न स्थायी प्रकृतिको सिलाम साक्माको प्रतिमा बनाउन लागेको हो । सिलाम साक्मालाई पालिकाले पर्यटट प्रवद्र्धनका लागि कोशेढुङ्गा बन्ने विश्वास लिएको छ ।

Similar Posts