तमू ल्होसारमा ताप्लेजुङमा सद्भावपूर्ण प्रर्दशन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १५ । तमू ल्होसारको अवसरमा तमू ल्होसार मूल आयोजक समितिले मंगलवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा सद्भावपूर्ण प्रर्दशन गरेको छ ।
तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् ताप्लेजुङका अध्यक्ष गंगाराम गुरुङले नगर परिक्रममा पछि फुङलिङ नगरपालिका वडा नं ६ स्थित निमाछ्यो खोर्लिङ बौद्ध गुम्बा परिसरमा औपचारिक कार्यक्रम हुने जानकारी दिनुभयो । आफ्नै जातीय पोशाकमा सजिएका व्यक्तिहरु तमू ल्होसारको गीत र नृत्यमा झुम्दै नगर परिक्रमामा समावेश भएका छन् । निमाछ्यो खोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले नयाँबर्षको आगमनको उल्लासमा सहभागी सबैलाई शुभकामना दिनु भएको छ । निमाछ्यो खोर्लिङ बौद्ध गुम्बालाई जिर्णोदार र संरक्षणको प्रकृया समेत सुरु भएको छ । उहाँले तमू ल्होसारको अवसरमा सद्भाव,एकता,भातृत्व र भाइचारा सम्वन्धको विकास थप प्रगाढ बनोस् भन्ने शुभकामना दिनु भएको छ ।
तमू पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ । यी वर्ग हरेक बाह्र वर्षमा दोहोरिरन्छन् । यसबर्ष तमू समुदायले ‘सप्री ल्हो’ (सर्प वर्ग) को बिदाइ तथा ‘त ल्हो’ (घोडा वर्ग) को स्वागत गर्दै नयाँ बर्ष मनाउँदैछन् । तमू ल्होसारको अवसर पारेर स्वर्गीय पदमबहादुर गुरुङको दोस्रो स्मृति दिवसमा ताप्लेजुङ स्पोर्टिङ क्लवले फुङलिङमा आयोजना गरेको क्लव स्तरीय फुटबल प्रतियोगिता समेत मंगलवार नै समापन हुँदैछ ।